जनतालाई प्रत्यक्ष लाभ हुने गरी स्वास्थ्य रणनीति प्रभावकारी रुपमा कार्यान्वयन हुन जरुरी : मन्त्री बस्नेत
काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० को प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनतालाई प्रत्यक्ष लाभ हुने गरी स्वास्थ्य रणनीति प्रभावकारी रुपमा कार्यान्वयन हुन जरुरी रहेको र यसका लागि सवैको सहयोग आवश्यक रहेको बताउनुभएको हो ।
मन्त्री बस्नेतले आर्थिक पछ्यौटेपनले लैङ्गिक हिंसा हुने भन्दै सबैलाई आर्थिक रुपमा समानन्तर बनाउनुपर्ने धारणा राख्नुभयो । उहाले स्वास्थ्य मन्त्रालयमा बजेट अभावका कारण सीमित स्रोत साधनमा मन्त्रालयको कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको गुनासो गर्नुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति लगाएतको स्वास्थ्यसम्बन्धी हक अधिकारलाई प्राथमिकतामा राखी स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनमा आएको जानकारी दिनुभयो ।