लोकगायक विष्णु र गायिका सुनिताको ‘बागलुङ कालिकामा’ सार्वजनिक
काठमाडौँ । लोकगायक विष्णु खत्री र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएको पञ्चेबाजा गीत ‘बागलुङ कालिकामा’ सार्वजनिक भएको छ ।
‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गीतले अहिलेसम्म २५ हजारभन्दा बढी ‘भ्यूज’ बटुलेको छ । सुमधर क्रियशनले उत्पादन गरेको सो गीतमा शब्द र संगीत पनि खत्रीकै रहेको छ ।
आशिष अविरलको संगीत संयोजन रहेको सो गीतको म्यूजिक भिडियोमा कलाकार तुलवीर थापा ‘समर्पण’ र यशु भट्टराईको अभियन रहेको छ । कथा र भिडियो निर्देशन विनम्र खत्रीले गरेका छन् ।
गीतमा बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, गुल्मीको मालिकालगायत पश्चिम नेपालका धार्मिकस्थलको प्रसंग जोडिएको छ । भिडियोमा पनि ती ठाउँका दृश्य कैद गरिएको गायक खत्रीले बताए ।
उनका यसअघि ‘जाउँला ढोरपाटन’, ‘मलाई हतार भइसक्यो’, ‘धवलागिरिको’लगायत पञ्चेबाजा गीत सार्वजनिक भएका थिए । लोकगायक खत्रीका पञ्चेबाजा गीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि लास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत गीत पनि चर्चित छन् ।
सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको उपाध्यक्षसमेत रहेका उनी दुई दशकदेखि गीत सिर्जना र गायनमा सक्रिय छन् ।