देशको रक्षा र विकासका लागि एमालेको एकल वहुमतको सरकार आवश्यक : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशको रक्षा गर्न सक्ने भन्दै अव दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको एक बहुमतको सरकार आवश्यक रहेको बताउनुभएको हो ।
अध्यक्ष ओलीले आन्तरिक र बाह्य शक्ति मिलेर एमाले पार्टी फुटाउने प्रयास भएको र कमजोर बनाउने षडयन्त्र भएपनि लोकप्रिय पार्टी बन्न सफल भएको धारण राख्नुभयो ।
उहाँले एमाले सरकारले गरेका कामबाट तर्सेर बिभिन्न शक्ति मिलेर एमालेलाई सरकारबाट हटाइएको जिकिर गर्नुभयो । एमाले सरकारमा भएका बेला गरेका कामले देशमा अरु कुनै बैकल्पीक शक्ति नरहेको स्पष्ट भएको उहाले बताउनुभयो ।
उहाँले एमालेले नाकाबन्दीको सामनादेखि उत्तर दक्षिण सडक लगाएतका बिकासका काम गरको भन्दै तर्सिनुपर्ने, डराउनुपर्ने र अल्मलिनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।