भिजिट भरतपुर टि–ट्वान्टी सिरिजको उपाधी मकवानपुरले उचाल्यो
काठमाडौं । चार जिल्ला सम्मिलित भिजिट भरतपुर टि–ट्वान्टी सिरिजको उपाधी मकवानपुरले उचालेको छ ।
चितवनको भरतपुर १५ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको फाइनल खेलमा चितवनलाई ५ विकेटले हराउँदै मकवानपुरले उपाधी उचालेको हो । चितवनले दिएको १ सय २४ रनको लक्ष्य मकवानपुरले १९ औं ओभरको अन्तिम बलमा लक्ष्य पूरा गरे ।
मकवानपुरलाई जिताउन सुभ कंसाकारले सर्वाधिक २७ रन बनाए । २३ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाएका उनी दानिस इकबालको बलमा एलबीडब्लु धरापमा परे । तक्षक सिंखडाले २४, रिजन ढकालले नटआउट २३, र सक्षम बस्ताकोटीले २० रन जोड्दै मकवानपुरको जित सुनिश्चित गरे । बलिङमा चितवनका दिवस आचार्य र दिपेश श्रेष्ठले २/२ तथा दानिस इकबालले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय २३ रन बनायो । ७ ओभरमा ३२ रन जोड्दा सुरुआती ४ विकेट गुमाएको चितवनको पारी त्यसपछी सम्हालिएको थियो ।
चितवनका लागि क्रिजन गुरुङले सर्वाधिक ३१ रन बनाए । २२ बलमा २ चौका र २ छक्का प्रहार गरेका उनी समीर चौलागाईको बलमा क्लिन बोल्ड भए । १९ बलमा २० रन बनाएका दिपेश श्रेष्ठ रोहित ठाकुरको बलमा बोल्ड आउट भए । बलिङमा मकवानपुरका समिर चौलागाईले ३, रोहित ठाकुरले २ तथा रिजन ढकाल, असिम श्रेष्ठ र साकार गजुरेलले समान १ विकेट लिए ।
विधागततर्फ प्रतियोगिताको वेष्ट बलर १३ विकेट लिएका मकवानपुरका रिजन ढकाल भए । वेष्ट ब्याटरमा ९५ रन बनाएका चितवनका प्रतिक श्रेष्ठ चुनिए । प्लेयर अफ द सिरिज मकवानपुरका रिजन ढकाल बने । वेष्ट क्याचको उपाधी पर्साका सम्साद मन्सुरीले पाए ।
प्रतियोगिताका उप–विजेताले मेडल र प्रमाणपत्र प्राप्त गर्दा विजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजेतालाई भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले ट्रफी र मेडल हस्तान्तरण गरेका छन् ।