कांग्रेसले महासमिति बैठक पुनः सर्यो, फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म ललितपुरमा गर्ने निर्णय भएको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले पूर्वनिर्धारित मितिलाई सार्दै महासमिति बैठक फागुनमा गर्ने निर्णय गरेको कांग्रेस प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

राष्ट्रियसभाका चूनावलाई मध्यनजर गर्दै महासमिति बैठक सार्ने निर्णय गरिएको उहाले बताउनुभयो । यसअघि पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्ने तय भएको थियो । त्यस्तै बैठकले राष्ट्रियसभाको निर्वाचनका लागि दल दर्ता गर्ने र उम्मेद्वारलाई दिने पत्रमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने निर्णय पनि बैठकले गरेको छ ।

दर्ता लगायतका कामका लागि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई अधिकार दिइएको विश्वकर्माले बताउनुभयो । बैठकले जाजरकोट भूकम्पपछि पूननिर्माण र अस्थायी आवासको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकले पुष १६ देखि माघ १६ गतेसम्म पार्टीको आन्तरिक अभियान पुनः सुरु गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले पार्टीको तर्फबाट बन्दसूचीमा रहेका केहि नेताहरुको नाम फिर्ता लिने निर्णय भएको प्रचार बिभाग प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।

महासमिति बैठक अघि पुस १२ गतेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने विश्वकर्माले जानकारी दिनुभयो ।