दलितलाई डाक्टर बन्ने बाटो खुलाए ब्राह्मणले

गुल्मी । जसले २०६५ सालमा बढो मुिस्कलले आर्थिक समस्या झेल्दै गाउँको सरकारी विद्यालयबाट एसएलसी पास गर्दा क्याम्पस पढ्ने कुरा उनका बडो सोचनीय विषय थियो । उनलाई विज्ञान विषय लिएर क्याम्पस पढ्ने मन थियो । तर, उनका अगाडि आर्थिक मामिला तगारो बनेर तेर्सियो । अरु साथीहरु क्याम्पस भर्ना भई रहँदा उनी अकल्गुम थिए । रोगी र बृद्ध बुवा, एउटी आमाको निमेक मजदुरीका भरमा उनले त्यहाँ सम्मको अध्ययन गरेका थिए ।
उनी हुन् गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर–१, साविकको दुर्गम गाउँ नेटा गाविस कटौजेका काँशीराम बिक । २०४८ साल बैशाख ६ गते पिता टोपबहादुर बिक र माता मनरुपाको कोखबाट सानो खरको झुपडीमा जन्मिएका उनी गरीव भए पनि उनले पढेको सरस्वती माध्यमिक विद्यालय नेटाका अव्बल विद्यार्थी थिए ।
एसएलसी पास गरेर सदरमुकाम तम्घासको रेसुङ्गा बहुमुखी क्याम्पस समेत भर्ना हुन नसकेका उनलाई केही समय पछि काठमाडौंबाट फोन आयो । त्यही फोन नै उनको उज्ज्वल भविश्यको संकेत थियो । उक्त फोन गरेका थिए उनका छिमेकी गाउँ भर्मचौर घर भई काठमाण्डौमा बसेर क्याम्पस पढाउने दिनानाथ पौड्यालले । उनले बिकलाई फोन गरेर काठमाण्डौं बोलाए । आफ्नै कोठामा राखेर पुरानो बानेश्वरको न्यु समिट कलेजमा भर्ना गराए ।
आठ महिना सम्म उनी संगै बसेर पढे । त्यसपछि अध्ययनमा मात्र नभई होस्टेलमा समेत छात्रवृत्ति पाए । होस्टेलमै बसेर विज्ञान विषयमा कक्षा १२ सम्म पढे । कक्षा १२ पछि उनका साथीहरु एमबिबिएस अध्ययनका लागि शिक्षा मन्त्रालयले लिने प्रवेश परीक्षाको तयारीमा जुटे ।
तर उनी संग त्यो पढ्ने रकम जुटाउने उपाय भएन । उनी बाग्लुङ्गको वुर्तिबाङ्गमा रहेको जनता ईङ्गलिश सेकेन्डरी बोर्डिङ्ग स्कुलमा पढाउन गए । एक वर्ष सम्म त्यहाँ पढाए पछि उनी फेरी काठमाण्डौ फर्के । त्यहाँ पढाएर उनले उक्त रकम जुटाई सकेकोले उनी शिक्षा मन्त्रालयको त्यस प्रवेश तयारी कक्षामा भर्ना भए । तीन महिनाको अध्ययन पछि लिईएको परीक्षामा उनी एमबिबिएस अध्ययनको छात्रबृत्ति पाउनेमा उत्तीर्ण भए ।
पाँच बर्ष अध्ययन पुरा गरी अहिले उनी जिल्ला अस्पताल गुल्मीको एमबिबिएस डाक्टरको नियुक्ति लिएर आएका छन् । बुधवारदेखि उनले त्यस अस्पतालमा कार्यभार सम्हालेका छन् । उनको घर छिमेकी जिल्ला वाग्लुङ्गको सीमनामा पर्दछ । अहिले सम्म पनि उनका गाउँका मानिसहरु जिल्ला अस्पताल तम्घासको पहुँचमा छैनन् ।
डाक्टर बिक पहिलो पटक आफ्नो जिल्लाको अस्पताल भित्र प्रबेश गरे त्यो पनि डाक्टर बनेर । डाक्टर बिक भन्छन् –‘ मैले यो जिल्ला अस्पताल देखेको सम्म थिईन । आज पहिलो पटक प्रबेश गर्दैछु । उनी बुधवार अस्पताल प्रबेश गर्दै गर्दा महिला अधिकारकर्मी विष्णुकुमारी सापकोटा, निर्मला केसी लगायतले पुष्पगुच्छाले स्वागत गर्दै बधाई दिदै थिए ।
बाबु आमाका ९ सन्तान मध्येका एक हुन् डाक्टर बिक । घरमा चरम गरिवी थियो । त्यस माथी बाबुको मृत्यु भयो । घर जल्यो । अरु यावत आरोह अवरोहहरु पार गरे उनले, कत्ति विचलित भएनन् । लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामा एमबिबिस उत्तिर्ण डाक्टर बिक यसरी डाक्टर बन्लान् भन्ने कल्पना नै गर्न नसकिएको उनका छिमेकी तथा शिक्षा विकास तथा समन्वय ईकाई गुल्मीका शाखा अधिकृत झविलाल बिक बताउँ छन् ।
उनी भन्छन् सामान्य क्याम्पस भर्ना त कसरी हुने हो भन्ने उहाँहरुको आर्थिक अवस्था थियो । उनले एसएलसी पास गरे पछि शिक्षक सम्म हुन सक्ने भएकोले मैले म्याथ वा ईङ्गलिश विषय लिएर पढ्न सुझाएको थिएँ, डाक्टर र ईञ्जिनियर पढ्ने भन्ने कुरा त सोच्न सम्म सकिएको थिएन ।’
डाक्टर बिक भन्छन् डाक्टर बन्ने कुरा त म आफैले पनि कल्पना समेत गर्न सकेको थिइन । मलाई थाहा थिएन विज्ञान पढेर डाक्टर बनिन्छ भन्ने कुरा । म सायद भाग्यमानी रहेछु क्यारे दिनानाथ सर जस्ता गडफादर पाएँ मैले । उहाँले ठुलो सहयोग सहित प्रेरणा दिनु भयो । बुटवलमा खेम पुन, छिमेकी मामा थामडाँडाका दुर्गा बिक सहित अरु धेरैले सहयोग गरेर मलाई यहाँ सम्म ल्याउनु भयो । उहाँहरु सवैप्रति कृतज्ञता जाहेर गर्ने मैले त्यस्तो शव्द नै शव्दकोषमा पाईन । उनी थप्छन् मेरो घरको गरिवीले नै मलाई यहाँ सम्म पुु¥याएको हो ।
गरिव हुँदैन्थे भने दिनानाथ सर जस्ता सयौंको सहयोग पाउन सक्ने थिईन । यसर्थ गरिवीलाई मेरो कमजोरी होईन मेरो ताकत ठानेको छु । गरिवी होईन समस्या, जुन कोही गरिवले लिने अपेक्षामा भर पर्दो रहेछ । मैले गाउँको मास्टर बन्ने अपेक्षा लिएको थिएँ । कहिले चाहना मानिसको अपेक्षा अनुरुप नै पुरा हुँदो रहेछ भने कहिले जिन्दगीको मोड नै बदलिदो रहेछ ।
उनका प्रमुख उपकारक र प्रेरणाका श्रोत दिननाथ पौड्याल भन्छन्–‘मैले भन्दा पनि उनी आफैको मेहनत र संघर्षले यहाँ सम्म आएका हुन् । मैले त वातावरण मात्रै बनाई दिएको हुँ । अरु थुप्रैलाई पनि बातावरण बनाएँ तर कोही लफङ्गिए तर उनले बढो मेहनत गरे । उनि यसरी सफल भएकोमा एकदमै खुशी छु । जिल्ला अस्पताल तम्घासमा दलित समुदायबाट डाक्टर नियुक्ति लिएर आउने सम्भवत उहाँ पहिलो हुन सक्छ ।’