राप्रपाको प्राथमिकता सत्ता नभई सडक : अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको प्राथमिकता सत्ता नभई सडक हुने बताउनुभएको छ ।
आइतबारदेखि काठमाडौंमा सुरु केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले राप्रपाको एजेण्डालाई स्थापीत गर्न अव पार्टीको प्राथमिकता सत्ता नभई सडक हुने बताउनुभएको हो । बैठकले ठोस योजना र संकल्प तय गरेर सडक संघर्षलाई अघि बढाउने खाका तयार गर्ने उहाँले बताउनुभयो ।
राजसंस्था, हिन्दुराष्ट्रको पक्षधरबीच एकता, सहकार्य आवश्यक र सम्भव रहेको उहाले समान बिचार बोक्नेहरुले चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गर्न आह्वान गर्नुभयो । आफुहरुको जनदवावले मुख्य दलहरुलाई सम्झौतामा आउन बाध्य बनाउने उहाँको दावी छ ।
अध्यक्ष लिङ्देनले सत्तापक्ष र प्रतिपक्ष समेत मिलेमतोमा कमाऊ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरुको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गरेको जिकिर गर्नुभयो । दलहरुको गलत मार्गचित्रका कारण देश गलत बाटोतर्फ हिडिरहेको उहाले बताउनुभयो ।
बैठकमा महामन्त्री डा.धवलशम्सेर राणाले बृहद आन्दोलन सम्बन्धि कार्ययोजना, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदार बहादुर अधिकारीले सचिवालय सम्बन्धि प्रतिवेदन पेश गर्नुभएको छ ।