संघीयतामा गएपछि मुलुकमा सन्तोषजनक बिकास भएको छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयतामा गएपछि मुलुकमा सन्तोषजनक बिकास भएको बताउनुभएको छ ।

ललितपुर महानगरपालिकाको १ सय ५ औँ स्थापना दिवसको अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकमा तीनै तहको सरकारका कारण भएको बिकास सन्तोषजनक भएको र यसमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको जिकिर गर्नुभयो ।

उहाले स्थानीय तहका जनप्रतिनिधिलाई संघीयताको पक्षमा बोल्न आग्रह गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले पूर्वाधार विकास, संस्कृति तथा सम्पदाको संरक्षण, सेवा प्रवाह र सुशासन, शिक्षा, पूर्वाधार क्षेत्रमा स्थानीय तहले गरेका कामबारे जनप्रतिनिधिहरुले जनतालाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले केही गणतन्त्र विरोधी पक्षले नकारात्मकता फैलाइरहेकोले पनि परिवर्तन पक्षधरको भूमिकाका बारेमा जनतालाई जानकार गराउनुपर्ने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको निराकरणका साथै बाग्मती नदी हस्तक्षेप, तीनकुने हस्तक्षेपमा सरकारले गरेको कामलाई स्वीकार गर्न काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई सुझाव दिनुभयो ।

त्यसअघि कार्यक्रममा काठमाडौं महानगरका प्रमुख शाहले संघीय सरकारले चाहे तत्काल फोहर व्यवस्थापनका साथै तीनकुने र बागमतीको समस्या समाधान हुने बताउनुभयो । उहाले सरकारले सहयोग नगरेकै कारण महानगरको समस्या समाधान हुन नसकेको आरोप लगाउनुभएको थियो । मेयर शाहले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने धारणा पनि राख्नुभयो ।

त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरका सम्पदाहरु टेन्डर गरेर निर्माण हुन नसक्ने बताउनुभयो । उहाले सार्वजनिक खरिद ऐन २०६३ मा भएका कमि कमजोरीका कारण निर्माण कार्य समयमा नै सम्पन्न हुन नसकेकाले महानगरले आफैले सम्पदाको पूर्ननिर्माण गरेको जिकिर गर्नुभयो ।

स्थापना दिवसको अवसरमा ललितपुरले स्वास्थ्य बीमा सुरु गरेको छ । कार्यक्रममा थापना दिवसको अवसरमा आयोजित रचनात्मक कार्यक्रमका बिजयीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो भने बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।