ज्ञान, सीप, प्रविधि राष्ट्र निर्माणका लागि विद्यार्थीलाई उपयोग गर्न राष्ट्रपतिको आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप, प्रविधि राष्ट्र निर्माणका लागि उपयोग विद्यार्थीहरुलाई आह्वान गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहका अवसरमा सोमबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्वदेशमा प्राप्त ज्ञान, सीप, प्रविधिलाई राष्ट्र निर्माणमा उपयोग गर्न आह्वान गर्नुभएको हो ।
उहाले मुलुकको भविश्य युवा बिद्यार्थीहरुको हातमा रहेको भन्दै सक्षम, सबल, तथा समृद्ध राष्ट्र निर्माणका लागि दीक्षित छात्रछात्राहरूको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । शिक्षा बिकासका लागि प्रयाप्त नभइपनि सरकारले यस क्षेत्रमा ठूलो लगानी गरेकै कारण हजारौ विद्यार्थीहरु दीक्षित हुन सफल भएको उहाले बताउनुभयो । राष्ट्रपति पौडेलले पढाइमा अब्बल बन्नुपर्ने दबावका साथै रोजगारीको चिन्ता हुने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समतामूलक र सबै वर्ग, समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ हुनुपर्दछ भन्ने मान्यताका साथ सरकार अघि बढेको बताउनुभयो । यसका लागि उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकुल सुधार गर्दै लैजानुपर्ने उहाले बताउनुभयो ।
विश्वविद्यालयहरूमा शैक्षिक क्यालेण्डर लागू हुन नसक्नु, बेलाबेला पठनपाठनमा गत्यावरोध आइरहनु र विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुने बिषयमा गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको उहाले बताउनुभयो । उहाले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको धारणा पनि राख्नुभयो ।
दीक्षान्त समारोहमा विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन् ।