सेनालाई विवादमा ल्याउने काम भएको भन्दै प्रधानसेनापति आक्रोशित
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले पछिल्लो समय सेनालाई विवादमा ल्याउने काम भएको भन्दै आक्रोश जनाउनुभएको छ ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानसेनापति शर्माले सेनाप्रति भ्रम सिर्जना गरि अनावश्यक विवादमा ल्याउने काम भएको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । उहाले ताराध्वज पाण्डेको बढुवा सिफारिसका लागि सात दिने सूचनामात्रै भएको र त्यहिबीचमा जन्ममितिको बिषय उठेको जिकिर गर्नुभयो । आफ्ना कर्मचारीको उमेर कागजात हेरेर उमेर निर्धारित हुने भन्दै प्रधानसेनापति शर्माले कसैको जन्ममिति तय गर्नका लागि न्वारन गर्ने निकाय सेना नभएको स्पष्ट पार्नुभयो ।
पाण्डेको बिषयमा शैक्षिक प्रमाणपत्र जाँच गर्दा सहि पाइएको उहाले बताउनुभयो ।
त्यस्तै प्रधानसेनापति शर्माले काठमाडौं–तराई फास्ट ट्रयाक आर्थिक बिषयका कारण ढिलाई नभएको जिकिर गर्नुभयो । काठमाडौं–तराई फास्ट ट्रयाकलाई सहि समयमा सम्पन्न गर्न बिद्यमान कानून बाधक रहेको भन्दै यहि अवस्था रहे २०८३ साल सम्म पनि निर्माण सम्पन्न नहुने उहाले बताउनुभयो । उहाले काठमाडौं–तराई फास्ट ट्रयाक नमागेको भन्दै सरकारले काम गर्ने जिम्मेवारी दिएको तर आवश्यक कानून नदिइएको धारणा राख्नुभयो ।
बैठकमा समिति सदस्यहरुले बिभिन्न बहानामा काठमाडौं–तराई फास्ट ट्रयाक निर्माणलाई ढिलाई गर्न नहुने धारणा राखेका थिए । समिति सदस्य रवि लामिछानेले आयोजनाका निर्माणका क्रममा अनावश्यक खर्च देखिएको बताउनुभयो । आयोजना सेनाको प्रतिष्ठासंग जोडिएको र राष्ट्रिय गौरवको बिषयलाई गम्भीर रुपमा लिनुपर्ने उहाले बताउनुभयो ।
त्यस्तै समिति सदस्य गगन कुमार थापाले काठमाडौं–तराई फास्ट ट्रयाकलाई समयमा नै सम्पन्न गर्नका लागि सरकार गम्भीर हुनुपर्ने र आयोजना अघि बढाउन देखिएका समस्या प्रधानमन्त्रीले गम्भीतापूर्वक समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै समिति सदस्य रघुजी पन्तले आयोजना अघि बढाउन सेनाले औल्याएको बिषयमा गम्भीर भएर समाधान केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सेनाले आयोजनाको भौतिक प्रगति मात्र २८.५६ प्रतिशत पुगेको जनाएको छ । फास्ट ट्र्याकको कामलाई कुल १३ वटा प्याकेजमा विभाजन गरिएको सेनाले जनाएको छ । द्रुतमार्गमा हालसम्म ५२ अर्ब ८६ करोड रुपैयाँ खर्च भइसकेको सेनाले जानकारी गराएको छ ।