केन्द्रपछि प्रदेश र जिल्ला एकीकरणमा तीब्रता
नेकपामा कहाँ को हुँदैछ अध्यक्ष ?
काठमाडौं÷नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय नेतृत्वपछि प्रदेश र जिल्ला कमिटीको एकीकरणलाई तीब्रता दिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के.पी ओलीको गृहजिल्ला झापाबाट शुरु भएको एकीकरण लमजुङ हुँदै अन्य विभिन्न जिल्लामा प्रवेश गरेको छ ।
नेकपाले प्रदेश तथा जिल्ला कमिटीमा विघटित एमालेबाट ५५ र माओवादी केन्द्रबाट ४५ प्रतिशतको अनुपातमा पदाधिकारी छनौट गरेको छ । अध्यक्ष भने विघटित ती दुबै संगठनको प्रभावको आधारमा बनाएको छ । प्रदेश नम्बर १, २, ३, ४ र ५ का अधिकांश जिल्लामा अध्यक्ष विघटित एमाले पक्षबाट हुनेछ । केही जिल्लाको नेतृत्व माओवादी पक्षले पाउनेछ । एमाले पक्षबाट अध्यक्ष भएको जिल्लामा माओवादी पक्षलाई उपाध्यक्ष र सचिव दिने सहमति भएको छ । त्यस्तै माओवादी पक्षबाट अध्यक्ष हुने जिल्लामा एमाले पक्षले उपाध्यक्ष र सचिव पाउनेछ । कर्णाली प्रदेशका अधिकाँश जिल्लामा अध्यक्ष माओवादी पक्षले लिने भएको छ । प्रदेश नम्बर ७ का जिल्लामा भने अध्यक्ष विगतमा भएको प्रभावकै आधारमा बाँडफाँड हुने देखिएको छ ।
प्रदेश नम्बर ५ का सबै जिल्लामा नेतृत्व बाँडफाँड करिब टुंगिएको छ । १२ जिल्ला रहेको प्रदेश ५ मा नेतृत्व बाँडफाँड मिलाउने जिम्मा पार्टीले महासचिव विष्णु पौडेललाई दिएको छ । ५ मा प्रदेश कमिटीको अध्यक्षका लागि दलबहादुर राना मगर र गणेशमान पुन मगरको नाम सिफारिस भएको छ ।
कार्यदलले बुझाएको प्रतिवेदन अनुसार पूर्वमाओवादी केन्द्रको आधार क्षेत्र मानिने रोल्पा र रुकुम पूर्वी भागको नेतृत्व विघटित माओवादी केन्द्र पक्षधरले नै पाउने भएको छ । प्रदेश– ५ का ७ जिल्लाको नेतृत्व (अध्यक्ष) पूर्व एमालेको तर्फबाट हुनेछन् भने माओवादी केन्द्रले ५ जिल्लाको नेतृत्व पाउनेछ ।
रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान र दाङमा अध्यक्ष एमालेले पाउने भएका छन् । गुल्मीमा बालसिंह काउछा मगर, पाल्पामा राधाकृष्ण कँडेल, दाङमा शिव आचार्य, प्युठानमा तुलसीराम शर्मा, अर्घाखाँचीमा पिताम्बर आचार्य, कपिलबस्तुमा छबिलाल पोखरेल र रुपन्देहीमा गोपाल भट्टराई अध्यक्ष सिफारिस भएका छन् । उनीहरु सबै एमाले पक्षका हुन् ।
माओवादी केन्द्र पक्षधरले रुकुम (पूर्वी भाग), रोल्पा, बाँके, बर्दिया र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) अध्यक्ष पाउने भएको छ । बर्दियामा भुवन थारु, नवलपरासीमा घनश्याम यादव, बाँकेमा अक्कलबहादुर बम, पूर्वी रुकुममा होमप्रकाश श्रेष्ठ र रोल्पामा सुरेन्द्र घर्ती मगर अध्यक्षमा सिफारिस भएका छन् । प्रदेश–५ मा नेकपाको प्रदेश कमिटी २ सय ३ सदस्यीय हुनेछ । त्यसमध्ये एमाले पक्षबाट १ सय ६ र माओवादी केन्द्र पक्षधर ९७ जना हुनेछन् ।
अन्य प्रदेशमा पनि नेतृत्व बाँडफाँड तयारी भइरहेको छ । प्रदेश र जिल्ला कमिटीपछि निर्वाचन क्षेत्र, नगर तथा गाउँपालिकाको कमिटीमा नेतृत्व बाँडफाँड हुनेछ । त्यसपछि वडा तहसम्म नेतृत्व बाँडफाँड हुने नेकपाले जनाएको छ । पार्टीले कमिटीसँगै विभिन्न वर्गीय संगठनमा पनि एकीकरण तथा नेतृत्व बाँडफाँड प्रकृया अगाडि बढाएको छ । युवा संघ, विद्यार्थी र महिला संघ लगायतका संगठनको एकीकरण तथा नेतृत्व छिट्टै तोकिने नेकपाले जनाएको छ ।