राष्ट्रिय सभाको चुनावका लागि तोकियो ७ मतदान स्थल र १४ मतदान केन्द्र
काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रत्येक प्रदेशमा एक-एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई-दुई वटा मतदान केन्द्र राख्ने निर्णय भएको हो ।
कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर मतदानस्थल तोकिएको छ। मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा मतदानस्थल राखिएको छ ।
बागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक एफ प्राविधिक भवन, हेटौडामा र गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा राखिएको छ ।
लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही; कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल तोकिएको छ ।
मतदानस्थलमा प्रदेश सभा सदस्य र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष, नगर प्रमुख-उपप्रमुखले बेग्लाबेग्लै मतदान केन्द्रहरूमा मतदान गर्ने प्रवक्ता पौडेलले बताए ।
माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।