टेरामक्स सम्बन्धी सम्पूर्ण प्रकृया हाललाई याथस्थितिमा राख्न निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी सम्पूर्ण प्रकृया हाललाई याथस्थितिमा राख्न निर्देशन दिएको छ ।
बुधबार बसेको लेखा समितिको बैठकले अध्ययन प्रस्तावका लागि नीतिगत निर्णय गरेको नदेखिएको र मूल सम्झौता समितिलाई प्राप्त नभएको निश्कर्ष निकाल्दै हाललाई सम्पूर्ण प्रकृया याथस्थितिमा राख्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।
समितिले टेरामक्स प्रणाली खरिदबारे नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका निकायका अधिकारीहरुसँग छलफल गरेको थियो । समितिको बैठकको निष्कर्ष सुनाउँदै समितिका सभापति ऋषिकेश पोखरेलले टेरामक्स खरिद प्रक्रियाको सबै काम हाललाई यथास्थितिमा राख्दै हालसम्म सम्पादित कार्यहरुको सुक्ष्म विश्लेषण तथा अनुसन्धान गर्दा यो प्रक्रियामा सैद्धान्तिक, नीतिगत र सर्वोच्च अदालतको परमादेश समेत उल्लंघन भएको समितिको ठहर रहेको बताउनुभयो ।
समितिले सो प्रविधि खरिद प्रक्रियाका बारेमा थप अनुसन्धान गरी कानुनबमोजिम अभियोजन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिएको छ । सो प्रकरणमा अनुसन्धान गर्दा हरेक महिनाको प्रगति विवरण समितिमा उपलब्ध गराउन पनि अख्तियारलाई सभापति पोखरेलले आग्रह गर्नुभयो ।
दूरसञ्चार क्षेत्रमा हुने गैरकानुनी गतिविधि र राजश्वको असली विवरण पत्ता लगाउन भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रविधि खरिद गरी लागू गर्न खोजेको थियो । बैठकमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेरामक्स खरिदका लागि एलसी खोलेर १७.३४५ प्रतिशत अर्थात ५२ करोड रुपैयाँ भुक्तानी भएको जानकारी दिनुभयो ।
खरिद प्रक्रियामा सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको र त्यतिबेला फोरजी सेवा आइसकेको पनि उहाँले बताउनुभएको छ । गोपनीयताको विषयमा व्यक्तिगत कल डिटेल नहेरेर समग्र कल डिटेल रिपोर्ट हेरिने भन्दै यो अधिकार गोपनीयता ऐनमा समेत रहेको अध्यक्ष खनालले बताउनुभयो ।
यस्तै समितिका सदस्य अमरेशकुमार सिंहले लेबनानसँग टेरामक्सको उपकरण किन्ने निर्णय नै बदनियत पूर्ण देखिएको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले टेरामक्स जडानको लक्ष्य वा उद्देश्य नै स्पष्ट नभएको धारणा राख्नुभयो ।