देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरुले षड्यन्त्रका तानावाना बुनिरहेको अध्यक्ष नेपालको टिप्पणी
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरुले षड्यन्त्रका तानावाना बुनिरहेको टिप्पणी गर्नुभको छ ।
बुधबारदेखि बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरुले संविधानमाथि आक्रमण गर्ने काम फेरि सुरु गरेकाले राजनीतिक दलहरूले फेरि गम्भीर भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढ्नका लागि समाजवादी मोर्चामा आबद्ध दलहरू एकताबद्ध भएर अघि बढ्न सहमत भएको पनि जानकारी दिुनयभो ।
समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँ भित्र पनि मुलुकको जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल गराएको र त्यसको समाधानका लागि मोर्चामा आवद्ध सबै दलहरू एकताबद्ध भएर अघि बढन सहमत रहेको बताउनुभयो । अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी चाँडै दसौँ महाधिवेशन गर्न गइरहेको भन्दै २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको उत्तराधिकारी आफूहरू भएको दाबी समेत गर्नुभयो ।
उहाँले राष्ट्रिय राजनीतिमा आफ्नो नेतृत्वको पार्टीको हैसियत र भूमिका छ भन्ने कुरालाई नबिर्सन अन्य दलहरूलाई चेतावनी दिनुभयो । उहाँले सबै कुरासँग सहमत हुन नसक्ने भन्दै अहिले पनि आफूहरू नेपाली विशेषताको समाजवाद के हुनसक्छ भनेर गम्भीर चिन्तन मनन गरिरहेको बताउनुभयो । अध्यक्ष नेपालले जनतामा निराशा बढेको र राजनीतिमा वितृष्णा र पार्टीहरूप्रति असन्तोषको कारण खोजी गर्दै सुधार गर्नुपर्ने बताउनुभयो ।
बैठकमा सम्मानित नेता झलनाथ खनालले साम्राज्यवादी शक्ति नेपालका कम्युनिष्टहरुलाई सिध्याउने योजना बुनिरहेको भन्दै पार्टीले वाम एकताको पहल गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीको नवौं महाधिवेशनमा ७० वर्षे उमेरहद राखिए पनि यसको सान्दर्भिकता नै नभएको बताउनुभयो । नेता खनालले उमेरहद राख्ने तर विचारवान नेताहरु जन्माउन नसकिएको भन्दै आगामी महाधिवेशनमा पार्टीमा युवाहरुको व्यापक उपस्थिति हुनेगरी विधान बनाउनुपर्ने कुरामा पनि जोड दिनुभयो ।
पार्टीको आगामी महाधिवेशनको तयारी र विधानका सम्बन्धमा छलफल गर्न बसेको एकीकृत समाजवादीको बैठक शुक्रबारसम्म चल्नेछ । समाजवादीले विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागेको छ । यस्तै देशभर पार्टी सङ्गठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे पनि छलफल गरिने र प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी पनि तोकिने जनाइएको छ ।