बालकुमारी झडपमा दुई युवाको मृत्यु, छानविन गर्न समिति गठन
काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा दुई युवाको मृत्यु भएको छ ।
झडपपछि पाटन अस्पताल र किष्ट अस्पतालमा उपचारत युवाहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा वीरेन्द्र शाह र २३ वर्षीय सुजन राउत छन् ।
राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन । बरु छातीमा दाग देखिएको छ ।
पानीजहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो । पानी जहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तीर्णले अन्य क्षेत्रमा परीक्षा फर्म भर्न नपाउने निर्णय विरुद्ध युवाहरु अदालत गएका थिए ।
यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब २८ हजार परीक्षार्थीले औधोगिक क्षेत्रका लागि आवेदन दिन नपाउने भएपछि आक्रोशित भएका थिए ।
उत्पादनमूलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्ने १८ जनालाई मात्रै आवेदन दिन आह्वान गरेपछि फर्म भर्न नपाएका विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरुले श्रममन्त्री प्रकाश ज्वालाको गाडी चलाएपछि प्रदर्शनकारीमाथि प्रहरीले थप बल प्रयोग गरेको थियो । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास हानेको थियो । स्थिति साम्य हुने नदेखिएको भन्दै हवाई फायर गरेको थियो ।
यसैवीच सरकारले सो घटनाको छानबिन गर्न समिति बनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक वासु सिग्देल रहेको छानबिन समिति गठन गरेको हो ।
समितिलाई ७ दिनभित्रमा घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन भनिएको गृह मन्त्रालयले जनाएको छ ।