समुन्नतिको राष्ट्रिय आकांक्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयासरत : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा विद्यमान चुनौतीहरुको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकांक्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयासरत रहेको बताउनुभएको छ ।
आइतबार तमु ल्होसार २०८० को अवसरमा काडमाडौंको खुल्लामञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अक्षुण एकता, सद्भाव र सहिष्णुतासहितको राष्ट्रिय विशेषतालाई आत्मसात गर्दै देशमा विद्यमान चुनौतीहरुको सम्बोधनका साथ समुन्नतिको राष्ट्रिय आकांक्षाका लागि निरन्तर प्रयासरत रहेको बताउनुभएको हो ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु सरकारको राष्ट्रिय कार्यभार भएको उहाले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रियताको संवर्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहने धारणा धारणा राख्नुभयो ।
उहाँले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिँदै नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएको जिकिर गर्नुभयो ।