सेनाले यसरी मनाउँदैछ –पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
काठमाडौं । ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८० विविध कार्यक्रमहरूको आयोजना गरि मनाइँने नेपाली सेनाले जनाएको छ ।
सेनाले पौष २१ गते गोरखा दरबारबाट श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फौजले नेपाल एकीकरणको दौरान प्रयोग गरेको मार्ग हुँदै पदयात्रा थालनी गर्ने योजना रहेको जनाएको छ । सो पदयात्रा धादिङ तथा नुवाकोट हुँदै काठमाडौँ पुगेर नगर परिक्रमा पश्चात पौष २७ गते जङ्गी अड्डामा आयोजना गरिने विशेष कार्यक्रमका बिच श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा सलामी अर्पण पश्चात् समापन हुनेछ ।
पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका आरम्भकालीन पाँच कम्पनी (श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी( हाल बर्दबहादुर तथा सबुज) को झण्डा तथा दिपज्योति सहित ऐतिहासिक सैनिक पोशाक र परम्परागत बाजागाजासहित यात्रा सेनाले जनाएको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८० का अवसरमा पौष २७ गते जङ्गी अड्डास्थित सभामण्डपमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेश सम्बन्धी प्रवचन, लघु नाटक प्रदर्शन, कविता प्रतियोगिता आयोजना गरिने बताइएको छ ।
यस्तै, देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न इकाइहरुमा पनि विविध कार्यक्रमहरूको आयोजना गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश मनाइने सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।