कांग्रेसमा नैतिक धरातल बिपीको पालाको जस्तो छैन : डा. रामवरण यादव

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले बिपी कोइरालाको समयको राजनीतिक परिवेशलाई जोडेर अहिले देशमा केही भएन भनेर मूल्यांकन गर्नु उचित नुहने बताएका छन् ।

देशमा दुईवटा संविधान सभाबाट जारी भएको संविधानपछि पनि जनताको अवस्थामा देखिनेगरी सुधार हुन नसक्नु चिन्ताको विषय भएको उनले औंल्याए । नेपाली राजनीतिले बिपीले लिएको गाउँ जोड्ने नीतिलाई मनन् गर्नुपर्ने धारणा राखे । बीपी, समाज, राजनीति र अहिलेको व्यवस्थाको अध्ययन गरी गम्भीर भएर अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

बिपी विचार राष्ट्रिय समाजले प्रकाशनमा ल्याएको ‘बीपीवाद’ पुस्तकको शनिबार काठमाडौंमा लोकार्पण गर्दै यादवले बिपीको विचार अजर र अमर रहेको उल्लेख गरे । उनले बिपीको पालामा जस्तो नेपाली कांग्रेसको दर्शन, विचार र नैतिक धरातल अहिलेको कांग्रेसजनमा नभएको टिप्पणी गरे ।

‘गौरव गर्छु कि म त्यो (कांग्रेस) संस्थामा छैन । त्यो संस्थाबाट म देशको राष्ट्रपतिसम्म भएँ । त्यो संस्थाको दर्शन बिपीले दिनुभएको थियो र बिपीका जो सहयात्रीहरु थिए–गणेशमानजी, कृष्णप्रसादजी, गिरिजाप्रसाद कोइरालालगायतको नैतिक धरातल अहिलेको कांग्रेसीमा खोज्यौं भने हामी आफैं बुझिहाल्छौं,’ डा. यादवले भने ।

बिपीको फिजिसिएन बनेर काम गरेको स्मरण गर्दै डा. यादवले अब नेपालीहरूमा पछाडि फर्किएर हेर्ने समय नभएको उल्लेख गरे ।