गठबन्धनको नेतृत्व गर्नेहरुबाटै जातीय सद्भावलाई भड्काउने काम भइरहेको छ : पोखरेल

काठमााडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनको नेतृत्व गर्नेहरुबाटै जातीय सद्भावलाई भड्काउने काम भइरहेको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय अपाङ्गता संगठन नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले वर्तमान सत्ता गठबन्धन सामाजिक सद्भाव खलबल्याउने काममा लागेको आरोप लगाउनु भएको हो ।

गठबन्धनको नेतृत्व गर्नेहरु जातीय सद्भावलाई भड्काउनको लागि पहिचानको नाममा आगो सल्काउने काम गरिरहेको भन्दै उहाले निन्दा र भत्र्सना गर्नुभयो । उहाले कुनै पनि जाति सानो वा ठुलो नहुने र कसैलाई विभेद गर्न नहुने र कसैले जातीय सद्भाव भड्काउन खोजे मान्य नहुने जिकिर गर्नुभयो ।

पोखरेलले अहिले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा कमजोर बनेको बताउनुभयो । उहाँले भारतीय राजदूतावासले नेपालमा आफूखुसी २० करोड रुपैँयासम्मका योजनामा खर्च गर्ने गरी सरकारले गरेको सम्झौता एमालेलाई मान्य नरहेको पनि स्पष्ट पार्नुभयो ।

त्यस्तै उहाँले राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई कमजोर हुन नदिन एमाले दृढतापूर्वक उभिने बताउनुभयो ।