एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको बताएका छन् ।

बुधबार सिन्धुपाल्चोकको थाङ्पालधाममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै ओलीले एमाले सरकारले मुलुकको विकासका धेरै काम गरेकाले त्यसलाई रोक्न गठबन्धन बनेको बताएका हुन् ।

गठबन्धन सरकार बन्ने वित्तिकै विकास सबै योजना काटिएको उनको भनाइ छ।

ओलीले अहिलेको सरकारले मुलुकको विकासमा ध्यान दिन नसकेको आरोप समेत लगाए। ओलीले अहिले नेपालमाथि गठबन्धन नामको ग्रहण लागेको बताए । देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठ/दशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेका ओलीको भनाइ छ ।

उनले अब एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने बताए । ओलीले देशभक्त पार्टी नेकपा एमाले जनताको साथमा रहेको प्रष्ट पारे ।