सर्लाहीमा मृतक भएका नापी कर्मचारीको परिवारलाई रोजगार दिईने

काठमाडौं । भुमि व्यवस्था सहकारी तथा गरिब निवारण मन्त्री रन्जिता श्रेष्ठ चाैधरीले नापी कार्यालय मलंगवाका कर्मचारी सवार गाडी दुर्घटनामा परि मृत्युु भएका कर्मचारीकाे परिवारका सदस्यलाई राेजगारीकाे व्यवस्थापन गर्न निर्देशन दिएकी छिन् । 

आज मन्त्रालय स्तरीय वैठकमा मन्त्री श्रेष्ठले दुर्घटना प्रति दुख ब्यक्त गर्दै मृतक परिवारलाई राहत स्वरुप राेजगारी तथा घाइतेको उपचारका लागि आवश्यक कदम चाल्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी हुन् । 

वैठकमा मन्त्री चाैधरी, मन्त्रालयका सचिव गाेकर्णमणि दुवाडी, नापी विभागका निर्देशक  प्रकाश जाेशी लगायतका कर्मचारीहरु उपस्थित थिए । 

वैठकमा मन्त्री चाैधरीले मृतकका परिवारलाई भेटेर परिवार भित्रका एक सदस्यलाई राेजगारी दिने र गम्भीर घाइतेहरुलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइ थप उपचार गर्न निर्देशन दिएकी हुन् । 

सोमबार राति नवलपुर-मलंगवा सडकखण्डमा सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पिडी ९६४८ नम्बरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका वागमती नगरपालिका-११, कर्मैयाका ४५  वर्षीय विनोद घिमिरेको मृत्यु भएको छ । घिमिरेको एलेक्स न्युरो अस्पताल कलैयामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घिमिरे नापी कार्यालयको कार्यालय सहयोगी थिए ।
दुर्घटनाका अन्य १० घाइतेमध्ये ५ जनाको कलैयामा, ४ जनाको वीरगन्ज र एक जनाको मलंगवामा उपचार भइरहेको छ ।

नापी कार्यालय प्रमुख सन्जय मानन्धरसहित केही घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

सोमबार राति पौने ८ बजेतिर बीआर ०६ पिडी ९६४८ नम्बरको जिप (बोलेरो) मलंगवा नवलपुर सडकखण्डमा पर्ने मलंगवा नगरपालिका–१० गम्हरियामा उखु बोकेको ज १ त १०६७ नम्बरको ट्याक्टरसँग ठोक्किँदा दुर्घटनामा परेको हो ।

दुर्घटनामा जिप (बोलेरो) का चालक मलंगवा ३ का रामलाल साह पनि घाइते भएको बताइएको छ ।

दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धर, सञ्जित मण्डल, रामलाल साह, रिटेन यादव, वैधनाथ पटेल, रामबाबु राय, दीपेन्द्र यादव, सहिद अनवर, वैजु यादव, अजय यादव र वैधनाथ राउत घाइते भएका छन् ।

गम्भीर घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज लगिएको थियो ।

दुर्घटनापछि ट्याक्टर चालक फरार छन् । ट्याक्टरका मालिकलाई प्रहरी कार्यालयमा बोलाइएको बताइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।