सरकारले लय समात्न सकेन, जनतामा विश्वास गुम्दै : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले लय समात्न नसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले लय समात्न नसकेको र सरकार निकायप्रति जनताको विश्वास गुम्दै गएको बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना केही कमजोरी स्वीकारेर नयाँ संकल्प गरे पनि लय भने समात्न नसकेको उनको भनाइ छ ।
साथै सरकारी निकाय अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको विश्वास गुम्दै गएको पाइएको भन्दै उनले जनतामाझ टुटेको भरोसालाई जागृत गराउन संसद सक्षम हुनुपर्ने बताए ।
थापाले सहकारीमार्फत ठगीमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
उनले सहकारीमार्फत् ठगी गर्ने जतिसुकै शक्तिशाली भए पनि दण्डित गर्नुपर्ने बताएका हुन् । उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।
सरकार पूर्वाग्रही हुन नहुने भन्दै उनले सरकारले लोकरिझ्याइँका लागि प्रहरी प्रशासन र सरकारी निकायहरुको दुरुपयोग गर्न नहुने बताए ।