आफ्ना माग र अधिकार पुरा गराउन शिक्षकहरु मर्यादित भएर लाग्नुपर्छ : मन्त्री बस्नेत

सिन्धुपाल्चोक । स्वास्थ्यमन्त्री मोहन बस्नेतले आफ्ना माग र अधिकार पुरा गराउन शिक्षकहरु मर्यादित भएर लाग्नुपर्ने बताएका छन् ।
नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले शनिबार सिन्धुपाल्चोकमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले शिक्षण पेशा मर्यादित भएको भन्दै आफ्ना माग र अधिकार पुरा गराउन शिक्षकहरु मर्यादित भएर लाग्नुपर्ने बताएका हुन ।
अहिलको व्यवस्थामा आफुहरुको माग पुरा गराउन यसअघि विधालय नै बन्द गरेको भन्दै त्यसले पठनपाठनमा असर परेको उनले बताएका छन् । मन्त्री बस्नेतले आजिवन शिक्षक भएर काम गरेकालाई सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् ।
शिक्षकहरुको समस्या समाधान गर्न सरकार सकारात्मक रहेको उनको भनाइ छ । मन्त्री बस्नेतले शिक्षा क्षेत्रमा धेरै काम भएपनि चिकित्सा क्षेत्रको पढाई भने सहज नभएको बताए । यसलाई सहज गर्न चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा अघि बढेको उनले बताएका छन् । उनले नेपाललाई मेडिकल शिक्षाको हव बनाएरै छाड्ने उल्लेख गरेका छन् ।