पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा, विमानस्थलमा भव्य स्वागत
चितवन । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा आएका छन् । पूर्व राजा शाह ११ दिन बस्ने गरी पूर्वरानी कोमल लक्ष्मी शाह लगायत परिवारका सदस्यसहित चितवन आएका हुन् ।
चितवनको विभिन्न स्थान घुम्ने गरी पूर्व राजपरिवार चितवन आएको हो । पूर्व राजा शाहलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
पूर्व राजालाई विमानस्थल बाहिर निकाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । पूर्व राजा शाह आफैँले गाडी चलाएर विमानस्थलबाट बाहिरिएका हुन् । उनी आज पटिहानीको होटल सोल्टीमा बस्ने बताइएको छ । परिवारका अन्य सदस्यसहित चितवन आउन लागेका पूर्व राजा १६ दिन चितवनमा बस्ने कार्यक्रम तय भएको छ ।
चितवनमा रहँदा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा शयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।
फागुन ७ गते पूर्व रानी कोमलको जन्मदिन परेकोले पटिहानीमा नै जन्मदिन मनाउने तयारीसमेत पूर्व राजा शाहको छ । ३२ वटा कोठा बुक गरेकोले उनका आफन्तहरु र नजिकैका मानिसहरु पनि यसपटक पटिहानी आउने स्रोतले जनाएको छ ।