सुनसरीबाट १ करोड ८२ लाख नक्कली नोटसहित एक भारतीय पक्राउ

काठमाडौं ।  प्रहरीले सुनसरीबाट ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ ।

भारतबाट नेपाल आएको स्कारपियोबाट प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँ बरामद गरेको हो ।

इनरुवा नगरपालिका-४ सुनसरी खोलाको पुलनजिकबाट आइतबार साँझ प्रहरीले नक्कली नोट बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीले बताए ।

बिआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको चेकजाँच गर्दा स्कारपियोको पछाडिको भागमा लुकाएर ल्याइएको नक्कली नोट बरामद भएको उनले बताए ।

गाडी चालक भारत सुपौलका २२ वर्षीय मोहम्मद सैयदलाई पक्राउ गरिएको रेग्मीले बताए। उक्त स्कारपियो भारतको कुन ठाउँबाट आएको हो भन्नेबारे अनुसन्धान भइरहेको रेग्मीले बताए ।

‘ट्राफिक प्रहरीले चेकजाँचका क्रममा रोक्दा शंका लागेर हेर्दा नक्कली नोट बरामद भएको हो,’ रेग्मीले भने । बोराभित्र झोलामा लुकाएर र ल्याइएको अवस्थामा नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले नक्कली नोटबारे पत्रकार सम्मेलन गरी सोमबार दिउँसो जानकारी दिने जनाएको छ ।