उत्पादन र रोजगारी बढाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछि मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति नै भएको बताउनुभएको छ ।
शुक्रबार काभ्रेको बनेपाम बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव–२०८० को उद्घाटन गर्दै राष्ट्रपति पौडेलले कृषि क्षेत्रको विकासमार्फत मुलुकको समृद्धि र विकास गर्नुपर्ने बताउनुभएको हो ।

उहाले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति–निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो ।

निमुखालाई न्याय र विपन्नलाई आय’को व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उहाले बताउनुभयो । राष्ट्रपति पौडेललाई मूलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै औद्योगिकीकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्नसक्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमति प्रदेशको कृषि बजारीकरणमा बिशेष ध्यान दिने बताउनुभयो । उहाँले कृषि उत्पादनलाई राजधानीसम्म लैजान आफैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति, बनेपा नगरपालिका, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय तथा काभे्रपलाञ्चोक उद्योग वाणिज्य संघद्वारा संयुक्तरुपमा आयोजित बृहत् कृषि महोत्सव चार दिनेसम्म सञ्चालन हुनेछ ।