मुख्यमन्त्री यादवले पाए विश्वासको मत
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभामा विश्वासको मत पाउनुभएको छ ।
आइतबार बसेको मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले तेश्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो । प्रदेशसभा बैठकमा उपस्थीत १०४ जनामध्ये मुख्यमन्त्री यादवलाई ६९ सांसदले विश्वासको मत दिएका थिए भने विश्वासको मतको बिपक्षमा ३५ मत परेको थियो ।
मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राखेको प्रस्तावमा बहुमत सदस्यले मत दिएकाले विश्वासको मत प्राप्त भएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले घोषणा गर्नुभयो ।
गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिनुभएको हो । जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री बनेयता यादवले तेस्रो पटक विश्वासको मत लिनुभएको हो ।