भिजिट भिसामा रुस पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौं । भिजिट भिसामा रुस पाठइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका-१ घर भई हाल जिल्ला काठमाडौँको टोखा नगरपालिका-११ बानियाँटार बस्ने ३० बिनिता गुरुङ रहेकी छन् ।

गुरुङले एसएलसी फेल भएका भीमबहादुर बुढालाई वैदेशिक रोजगारीको लागि रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार गुरुङले बुढालाई प्रलोभनमा पारी पटक पटक गरी जम्मा रु. ३ लाख ४६ हजार रुपैयाँ र १ हजार अमेरिकी रकम लिई सम्पूर्ण भिजिट भिसामा चाहिने सर्टिफिकेट लगायतका कागजातहरू बनाई दिएकी थिइन् । 

गुरुङले एक हजार डलर साटेको देखाई उक्त डलर बसपार्कबाट आफै लिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर बुढालाई रसिया पठाएकी थिइन् । तर रसिया पुगे पश्चात् बुढालाई एयरपोर्टबाटै नक्कली कागजात भएको भनी फिर्ता पठाइएको थियो । 

नेपाल फर्किएपछि पीडित बुढाले वैदेशिक रोजगार विभाग आई निवेदन दिएका थिए । सोही आधारमा कार्यालयबाट खटिएको टोलीले ठगी गरी फरार रहेकी गुरुङ फागुन २१ गते बानियाँटारबाट पक्राउ गर्न सफल भएको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।