दलहरु मिलेर सरकार बनाइनु स्वभाविक : विष्णु पौडेल
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसदमा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दलहरु मिलेर सरकार बनाइनु स्वभाविक भएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले कुनै निश्चित दलसँग मात्रै सत्ता सहकार्य हुनुपर्छ भन्ने कहि कतै नभएको भन्दै संसद्भित्र जुनसुकै दलका बीच पनि सहकार्य हुनु स्वभाविक प्रक्रिया भएको बताउनुभएको हो ।
उहाँले वर्तमान सरकार र गठबन्धनले संसद्को बाँकी कार्यकाल पूरा गर्ने उल्लेख गर्नुभयो । पौडेलले मुलुकको सुशासन, समृद्धि र सामाजिक न्यायका लागि नयाँ गठबन्धन बनेको भन्दै यसलाई अविचलितरुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।
त्यस्तै उहाँले विगतको गठबन्धनका समस्यालाई खुलस्तरुपमा राखेर सहज र संविधानसम्मतरुपमा विकल्प खोज्ने काम प्रधानमन्त्रीबाट भएकाले सवै दलले यसलाई सहज र स्वभाविकरुपमा लिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले अहिले भएको सहयात्रा जनता र राष्ट्रका समस्यालाई सम्बोधनमा केन्द्रित रहने पनि बताउनुभयो ।