राजनीतिक प्रतिवद्धता र विकास लक्ष्य पुरा गर्न आफुले सत्तासमिकरण परिवर्तन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवद्धता र विकास लक्ष्य पुरा गर्न आफुले सत्तासमिकरण परिवर्तनको निर्णय लिएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो कदम राजनीतिक वेइमानी नभएको भन्दै राजनीतिमा केहि आशंका पैदा भएपछि अहिलेको अवस्था आएको समेत बताउनुभयो । औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? भन्ने बिकल्प आफुसंग गरेको अवस्थामा दोश्रो बिकल्प रोजेको उहाँले बताउनुभयो ।

संसदमा भएका कुनै दलसंग आशंका नभई राष्ट्रिय मुद्दाहरुमा मिलरै जाने पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । त्यस्तै उहाले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको जिकिर गर्नुभयो । आफूले सरकारको गतिसँग असन्तुष्ट छु भनेर पटकपटक भनेको स्मरण गर्दै प्रधानमन्त्रीले आउँदा दिनमा सरकारका काम र परिणामबाट प्रमाणित हुने विश्वास व्यक्त गर्नुभयो ।

आफूले चालेका कदम देश र जनताको हितमा रहेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कदम कसैलाई अस्थिरता लाग्न सकेपनि आफ्नो प्राथमिकता पद नभई देश र जनताको हितमा रहेको बताउनुभयो ।

त्यस्तै उहाँले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानविन गरी कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।

त्यस्तै उहाले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको जानकारी दिनुभयो । राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको उहाँको भनाइ छ ।