उप–निर्वाचनका उम्मेदवार बिरूद्द आज उजुरी लिइने
काठमाडौं । उप निर्वाचनका लागि मनोनयन भएका उम्मेदवार बिरूद्द आज उजुरी लिइने भएको छ ।
निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ ।
आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।
शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका १२ जना र स्वतन्त्र ८ गरी २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङयाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले उम्मेदवारी दर्ता गराएका छन् ।
४ मंसिर २०७९ मा भएको आम निर्वाचनबाट निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङको २५ भदौको राति निधन भएपछि खाली रहेको प्रतिनिधिसभा सदस्य पदमा चुनाव हुन लागेको हो ।
एमालेले सुवासका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । उनलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाले समर्थन गरेको छ । कांग्रेस उम्मेदवार डम्बर खड्का ४ मंसिर २०७९ को चुनावमा सुवास नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका लिम्बु माओवादी निकट पत्रकार हुन् र उनी चुनावको केही दिनअघि मात्र रास्वपाको उम्मेदवार चयन भएका थिए ।
इलाम २ मा पहिचान पक्षधर विभिन्न ४१ राजनीतिक शक्ति र संघसंस्थाको समर्थनमा डकेन्द्र सिंह लिम्बु थेगिम उम्मेदवार बनेका छन् । उनलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ ।
त्यस्तै राप्रपा नेपालका गणेशबहादुर चौकान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, नेशनल रिपब्लिक पार्टीका धनराज राना मगर, मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जीले पनि मनोनयन दर्ता गराएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिनेमा इलामका ४ जना छन् । इलाम नगरपालिका ११ का केशवकुमार चापागाई, इलाम नगरपालिका–७ का डाकप्रसाद गौतम, फाकफोकथुम गाउँपालिका– १ का दिपेश बोहरा र फाकफोकथुम–३ इलामका डकेन्द्रसिं लिम्बु (थेगिम) रहेका छन् ।
अछामका अर्जुनबहादुर शाही, बिर्तामोड झापाका मनोज निरौला, अर्जुनधारा झापाका योगेन्द्र गुरुङ, पोखरा कास्कीका राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रस्तावक र समर्थक नपाएका कारण स्वतन्त्र उम्मेदवारी दिन सर्लाहीबाट आएका उमेश दहालको भने मनोनयन दर्ता भएन । इलाम–२ को उपनिर्वाचनमा सबै प्रतिस्पर्धी पुरुष रहेका छन् ।
यता बझाङमा केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरू नै एक–अर्काविरुद्ध निर्वाचनमा होमिएका छन् । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ मा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीले आआफ्नो उम्मेदवारी दिएका छन् ।
नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा र नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट निर्वाचन लड्दै गरेका भण्डारी बझाङ अध्यक्ष हुन् भने नेकपा एकीकृत समाजवादीका सिंह जिल्ला इन्चार्ज हुन् । माओवादीका बुढा प्रदेश सचिव हुन् ।
सत्ता गठबन्धनभित्रैका तीनसहित १२ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।
उनका अनुसार नेपाली कांग्रेसका तर्फबाट अभिषेकबहादुर सिंह, जसपा नेपालबाट रामबहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्टले उम्मेदवारी दर्ता गरेकी छन् । नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्काले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए ।
आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । इलाम–२ र बझाङ प्रदेश– १ मा आयोगले उपनिर्वाचन गर्ने तयारी स्वरूप प्रकिया सुरू गरेको हो ।