तत्काल कम्युनिष्ट पार्टीहरुबीचको एकता सम्भव छैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्काल कम्युनिष्ट पार्टीहरुबीचको एकता सम्भव नरहेको बताएका छन् ।
नेकपा स्थापनाको ७५औं वर्ष पूरा भएको अवसरमा सोमबार एमालेले ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले अहिले आफुहरु बिभाजनको बाटोबाट माथि उठेको भन्दै तत्काल पार्टी एकीकरण गर्ने कुरा व्यक्तिगत आकांक्षामात्रै हुने बताएका छन् ।
अहिले सहकार्यको माध्यमबाट निकट हुँदै जाने र त्यसपछि मात्रै एकताको बिन्दुमा पुग्न सकिने उनले बताए । त्यस्तै ओलीले वामपन्थीमात्रै नभई देशभक्ति शक्तिहरू मिलेर जाने समय भएकाले देशको स्वाधीनता र स्वतन्ताको पक्षमा वकालत गर्ने भ्रष्टाचारविरुद्ध लाग्ने शक्तिहरु मिलेर जानुपर्ने धारणा राखेका छन् ।
अध्यक्ष ओलीले अहिलेको नयाँ सत्ता समिकरण देशमा विकासको अभियान चलाउने र जनताका समस्या समाधानका लागि बनेको भन्दै दलहरूको प्रमुख कार्य गरिबीको अन्त्य गर्ने हुनुपर्नेमा जोड दिएका छन् । उनले एमाले एकढिक्का रहेको भन्दै समृद्ध नेपाल सुखी नेपालीको अगुवाई पार्टीले गर्ने जिकिर गरेका छन् ।
उनले कम्युनिष्ट आन्दोलनको ७५ वर्षको समीक्षा गरेर आगामी बाटो तयार गर्न एमालेले दुई दिनसम्म बैठकको आयोजना गरेको बताए ।