१०० रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने नेपालको निर्णयमा भारतको असन्तुष्टि
एकपक्षीय कदमले जमिनको यथार्थ बदल्दैन : विदेशमन्त्री जयशंकर
काठमाडौं । नेपाल सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेकोमा भारतले असन्तुष्टि जनाएको छ ।
गत बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा अहिलेको नक्साको सट्टा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो ।
नेपाल सरकारले हालै सय रुपैयाँको नोटमा भारतबाट अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको थियो ।
सो निर्णयबारे भारतका पत्रकारहरुले सोधेको जिज्ञासामा शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको भारतका विदेशमन्त्री जयशंकरले भनेका छन्, ‘हाम्रो धारणा स्पष्ट छ, नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन हुँदैन ।’
नेपाल सरकारको निर्णयबारे विस्तृत जानकारी नभएको बताउँदै सीमाबारे दुई देशबीच स्थापित संयन्त्रमा छलफल भइरहेका बेला नेपालले एकतर्फी निर्णय गरेको उनले बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेको थियो ।