बिमस्टेकको चौथो शिखर सम्मलेन : नेपालको प्राथमिकताका ‘कनेक्टिभिटी’
काठमाडौं – काठमाडौंमा भदौ १४ र १५ गते हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मलेनमा नेपालले चार अजेन्डा उठाउने तयारी गरेको छ ।
सम्मेलनमा तीन प्रकारका कनेक्टिभिटीलाई नेपालले प्राथमिकताका साथ उठाउने भएको छ । भौतिक, डिजिटल र मानव गरी तीन प्रकारका कनेक्टिभिटीलाई कसरी प्रभावकारी रुपमा अघि बढाउन सकिन्छ भन्नेमा नेपालले तयारी गरिरहेको छ ।
भौतिक कनेक्टिभिटीअन्तर्गत सडकमार्ग, रेलमार्ग, जलमार्ग, हवाईमार्गलगायत समेटिएको छ । यस्तै, डिजिटल कनेक्टिभिटीमा इन्टरनेट, इमेललगायत भर्चुअल सञ्चारलाई समेटिएको छ।
कनेक्टिभिटी, व्यापार तथा लगानी, बिमस्टेक सदस्य राष्ट्रका समाजबीच अन्तरक्रिया र गरिबी निवारण मुद्दालाई उच्च प्राथमिकताका साथ उठाउने तयारी गरेको हो । यिनै मुद्दामा केन्द्रित भएर अहिले नेपालले आन्तरिक छलफल गरिरहेको छ।
बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरीसेना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, म्यानमारका राष्ट्रपति विन मिन्ट र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत छान–ओ–छा काठमाडौं आउने छन्।