चीनतिर लगिदै गरेको २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलर बोकेको ट्रकसहित चालक पक्राउ

काठमाडौं । टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित पक्राउ परेका व्यक्ति रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अवैध रकम कुनै गाडीमा राखेर चीनतिर लान लागेको खबर प्राप्त भएपछि प्रहरीले सवै गाडीको जाँच गर्दा सोमबार राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो ।

भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । प्रहरीका अनुसार उनी यसअघि ७ किलोन सुन तस्करी प्रकरणमा जेल परेर २०७८ मा छुटेका थिए ।

त्यतिबेला उनी रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ परेका थिए ।

पक्राउ परेका लामा र सो रकमबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।