कांग्रेस नेतृत्वमा सरकार बन्ने आधार तयार भएको प्रचण्डको दावी

चितवन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष प्रवेशसँगै नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको आधारहरू बनेको संकेत गरेका छन् ।

चितवनमा आज पत्रकारहरुले नयाँ सरकारबारे सोधेको प्रश्नमा प्रचण्डले सरकारतिर आफ्नो पार्टीको ध्यान नरहे पनि परिस्थितिले त्यतातिर डोर्‍याएको टिप्पणी गरेका छन् ।

आफूले पहिलेदेखि नै ठूलो दलको हैसियतले सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताउँदै आएको उल्लेख गर्दै प्रचण्डले थपे, ‘चौतर्फी असन्तुष्टि, आक्रोश, आवेग, आन्दोलन चलिराख्या छ । तर सरकार संवेदनशील छैन । डाक्टर, नर्स, शिक्षक, लघुवित्त पीडित मात्र नभएर सबै राजनीतिक दलहरू पनि झण्डै झण्डै सडकमै छन् । सरकारमा भएका दल पनि सडकमा आउन थाल्या छन् । भनेपछि परिस्थिति निकै गम्भीर र पेचिलो बनेको छ । तर मलाई लाग्छ नयाँ वर्षले केही न केही निकास लिएर आउँछ ।’