दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु
काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा पनि अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जाहेरी आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
१५ चैतमा तीनकुनेमा भएको राजावादी प्रदर्शनमा प्रसाईले सुरक्षाकर्मीलाई गाडीले पेल्दै अघि बढेका थिए भने सो दिन भएको प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको थियो ।
ज्यान मार्ने नियतले गाडीले पेलेर अघि बढेको भन्दै उनीविरुद्ध ड्युटीमा खटिएका प्रहरीहरूले सामूहिक निवेदन दिएको बुझिएको छ ।
सार्वजनिक भएको भिडिओमा प्रसाईं आफैंले गाडी चलाउँदै ड्युटीमा खटिएका प्रहरीलाई पेल्दै गाडी अगाडि बढाएको देखिएको छ भने उनले अपशब्द समेत बोलेको भिडिओमा सुनिन्छ । यसले गर्दा ज्यान मार्ने उद्योगको कसुर प्रसाईंविरुद्ध सबैभन्दा बलियो मुद्दा बन्न सक्ने बताइएको छ ।
अहिलेसम्म प्रसाईंविरुद्ध एक साथ चार वटा कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुर अन्तर्गत राजद्रोहको कसुर, संगठित अपराधमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिइएको थियो । यसमा ज्यान मार्ने उद्योगको कसुर र आपराधिक उवद्रव पनि थपिएसँगै चार वटा कसुरमा एक साथ अनुसन्धान अघि बढाइएको हो ।
तीनकुने घटना पछि प्रसाईंलाई २८ चैतमा भारतको आसाममा पक्राउ गरेर २९ चैतमा काठमाडौं ल्याइएको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले पहिलो पटक उनलाई १२ दिन हिरासतमा राख्न म्याद दिएको थियो ।