आगामी आर्थिक वर्षको बजेट मुलुकमा विद्यमान समस्याको हल हुनेगरी ल्याउँछौं : मन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट मुलुकमा विद्यमान समस्याहरुको सम्बोधन हुनेगरी ल्याइने बताएका छन् ।

आईतवार सिंहदरबारमा राष्ट्रिय योजना आयोगको बजेटसम्बन्धी मन्त्रालयगत छलफलको प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । सरकारले उत्पादन तथा निजी क्षेत्रले उठाएका मागहरुलाई सम्बोधन गर्नको लागि अध्यादेशबाट कानून संशोधन गरेको उनको जिकिर छ । सहकारी क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न कानूनी र संरचनात्मक प्रवन्ध गरिएको उल्लेख गर्दै उनले सहकारी क्षेत्रका समस्याको दिगो समाधान गर्नतर्फ सरकार अग्रसर रहेको बताए ।

अर्थमन्त्री पौडेलले मुलुकले अस्थिरताको अनिश्चित चक्रबाट गुज्रिसकेपछि राजनीतिक स्थायित्वको यात्रा तय गरेको समेत दाबी गरे । उनले अस्थिरतावादी प्रवृत्तिहरु स्थिरताको विरुद्ध क्रियाकलाप गरिरहेको उल्लेद गर्दै सफल हुन नदिइने बताए ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सम्पूर्ण परिसूचकहरु सकारात्मक दिशातर्फ अभिमुख रहेको बताए । उनले जनता र सरकारबीचको सम्बन्धलाई अझै मजबुत बनाउँदै मुलुकमा विद्यमान समस्याहरुको सम्बोधन गर्नेगरी बजेट ल्याइने विश्वस समेत दिलाए ।