‘प्रकाण्ड’लाई १० बजे अदालतमा उपस्थित हुन आदेश, बहस आजै हुने
काठमाडौं – प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतले बिहीबार १० बजे अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
बुधबार विश्वकर्मा ढिला गरी सर्वोच्च अदालतमा उपस्थित भएका थिए । जसका कारण बुधबार इजलास तोकेर बहस गर्ने समय नभएकाले बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुन भनिएको सर्वोच्च अदालतका मुद्दा महाशाखा ले जानकारी दिएको छ ।
गैरकानूनीरूपमा पक्राउ गरी थुनामा राखेको उल्लेख गर्दै थुनामुक्त गर्न सर्वोच्च अदालतमा आइतबार वीरेन्द्र विश्वकर्माले रिट निवेदन दायर गरेका थिए ।
विश्वकर्मालाई यही भदौ १ गते न्यायाधीश चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको थियो ।
सोहि दिन राति पुनःविश्वकर्मा प्रहरीले पक्राउ गरेको थियो । विश्वकर्मालाई व्यापारीसँग सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारबाही अघि बढाएको थियो ।