कांग्रेसका भ्रातृ संगठन लथालिंग
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख भ्रातृ संगठनहरूले प्रभावकारी भुमिका खेल्नुपर्नेमा आन्तरिक विवादले लथालिंग बनेका छन्।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माउ पार्टी पराजित भएसँगै संगठन निर्माणमा सक्रिय रहनुपर्ने नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघसहितका संगठनहरू आन्तरिक विवादले आफ्नै महाधिवेशन गर्न नसक्ने अवस्थामा पुगेका छन्।
दशकपछि ११औं महाधिवेशन गरेको नेपाल विद्यार्थी संघले दुई वर्षे कार्यकाल आन्तरिक विवादमै गुजारेको छ। भदौ १ गतेबाट विधानको व्यवस्थाअनुसार औपचारीक कार्यकाल सकिए पनि संघको महाधिवेशन कहिले र कसरी हुन्छ भन्ने टुंगो लाग्न सकेको छैन।
दशकपछि ११औं महाधिवेशन गरेको नेपाल विद्यार्थी संघले दुई वर्षे कार्यकाल आन्तरिक विवादमै गुजारेको छ।
त्यस्तै, दुई पार्टी एकीकरणदेखि नै जकटिएर रहेको ११ जिल्लाको आन्तरिक विवाद समाधानका लागि सहमतिमै प्रतिनिधि पठाउने संघको तयारी छ। तर, गुटगत स्वार्थमा संघभित्रको राजनीति विभाजित हुँदा छोटो समयमा महाधिवेशन सम्पन्न गर्न भन्दा विद्यार्थी र पार्टी नेता आफ्नो स्वार्थ पूरा गर्न पार्टीका नेताहरू नै सक्रिय छन्।
पार्टी भगिनी संगठन महिला संघको अवस्था पनि उस्तै छ। दुई वर्षअघि महाधिवेशन गरेको संघले आन्तरिक विवादका कारण अझै कार्यसमितिलाई पूर्णता दिनसकेको छैन। आन्तरिक विवादका कारण सात महिनादेखि केन्द्रीय समिति बैठक बस्न नसकेको महिला संघमा अध्यक्ष उमा रेग्मीले केही समय अघि केही पदाधिकारी र सदस्य मनोनित गरेपछि विवाद थप चुलिन पुगेको छ।
असन्तुष्ट समूहको नेतृत्व गर्दै महासचिव धना खतिवडा अध्यक्ष रेग्मीविरुद्ध मोर्चाबन्दी गर्न सक्रिय छिन्। महाधिवेशनमा रेग्मी र खतिवडा एउटै प्यानलबाट उम्मेदवार बने पनि खतिवडा नेता कृष्णप्रसाद सिटौलासँग निकट हुन् । ५८ संसदीय कार्यसमिति रहेको महिला संघ अहिले प्रदेशस्तरीय प्रशिक्षणमा छ।
गुटगत सन्तुलन नमिल्दा महाधिवेशन भएको दुई वर्ष हुन लाग्दा नेपाल तरुण दलको केन्द्रीय समिति गठन हुन सकेको छैन। पार्टीभित्र चार समूहको अस्तित्व स्वीकार गर्दै सभापति देउवा, नेता पौडेल, सिटौला र खुमबहादुर खड्कालाई एकएक पदाधिकारी बाँडफाँट गर्दै २०७३ मंसिर १ गते महाधिवेशन सम्पन्न भएको थियो।
यसले गर्दा अध्यक्षले मनोनीत गर्ने दुई सचिवसहित १६ केन्द्रीय सदस्य मात्र होइन महाधिवेशनबाटै चयन हुनुपर्ने खुला २३, एक महिलासहित प्रदेशबाट २८, महिला ७, आदिवासी जनजाति र मधेसीबाट ४–४, दलित र अल्पसंख्यकबाट ३–३, सहिद परिवार, थारू र मुस्लिमबाट एकएकजना केन्द्रीय सदस्यसमेत चयन हुन सकेको छैन।
नेपाल दलीत संघ, नेपाल किसान संघसहितका अन्य भ्रातृ तथा शुभेच्छुक संगठनको हालत पनि प्रमुख भ्रातृ संगठनको भन्दा कम छैन। संगठन निर्माणमा भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई सक्रिय गराउन भन्दा पार्टीकै नेताहरूको उनीहरूलाई उपयोग गरेर गुटगत स्वार्थ पूरा गर्न लागि पर्दा कांग्रेसका भ्रातृ संगठन एकपछि अर्को गर्दै लथालिंग र भताभुंग हुँदै गएका आजको नागरिक दैनिकमा समाचार छ ।