‘असारे विकास’ अन्त्य गर्ने, अध्यक्षको तलब बालबालिकाको शिक्षामा
म्याग्दी – रघुगङ्गा गाउँपालिकाले ‘असारे विकास’ विकृति न्यूनीकरणका लागि चालु आवका लागि बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम २०७५ चैत १५ गतेभन्दा अघि सम्झौता गरिसक्नुपर्ने बाध्यकारी निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले आर्थिक वर्षको अन्त्यमा गरिने पूर्वाधार निर्माण, तालीम र गोष्ठीजस्ता कार्यक्रम दिगो, प्रभावकारी तथा उपलब्धिमूलक नदेखिएकाले सुधारको पहल थालिएको बताए । समयमै गुणस्तरीय काम गराउने र बजेट दुरुपयोग रोक्नका लागि असारे विकासको प्रवृत्तिलाई निरुत्साहित गर्न लागिएको उहाँले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाईंले योजना कार्यान्वयनलाई सहज र प्रभावकारी बनाउन उपभोक्ता समितिका पदाधिकारीलाई तालीमको ब्यवस्था गरिएको जनाइएको छ ।
गाउँपालिका अध्यक्ष भण्डारीको तलब बालबालिकाको शिक्षामा
यसैबीच अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने उद्देश्यले कोष स्थापना गरेका छन।
आफूले जनप्रतिनिधिको हैसियतमा राज्यबाट पाउने तलब भत्ता कोषमार्फत गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने व्यवस्था मिलाएको भण्डारी भण्डारीको भनाइ छ ।
गाउँ कार्यपालिकाको बैठकबाट परिवारका सदस्यको हक नलाग्ने गरी कोष स्थापना गर्ने निर्णय गराएका भण्डारीले १३ महिनाको सुविधाबापत पाएको रकम कोषमा जम्मा गरिसकेको जानकारी दिए ।
गण्डकी प्रदेश सरकारले गाउँपालिकाको अध्यक्षका लागि मासिक ३० हजार तलब तोकेको छ । पहिलो वर्षको करीब ४ लाख कोषमा जम्मा गरिसकेको भण्डारीले बताए । ५ वर्षको अवधिमा करीब २५ लाख कोषमा जम्मा हुने जनाइएको छ ।