राजपा अध्यक्ष मण्डलको बैठक बस्दैः प्रमको सम्बोधनले निम्ताएको बिवाद बारे छलफल हुने
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई गरेको सम्बोधनले निम्त्याएको विवादका विषयउपर राजपा अध्यक्ष मण्डलका सदस्यहरूको बैठक आजदेखि बस्ने भएको छ ।
पार्टीले प्रदेश नम्बर २ को प्रदेशसभामा संसदीय दलका नेता केन्द्रले तोकिदिएपछि त्यहाँका सांसदहरूमा असन्तुष्टि छँदै थियो तर ओलीको भ्रमणबाट त्यसलाई थप बल मिलेको पार्टी निकट नेताहरूको भनाइ छ ।
राजपाको तर्फबाट संसदीय दलको नेता भएकाले मुख्यमन्त्रीलाई दबाब दिन सक्ने स्थितिमा सोनल नै हुन् । तर, उनले मुख्यमन्त्रीले प्रधानमन्त्री ओलीलाई प्रदेश सभामा सम्बोधन गर्न गरेको निम्तोलाई रोक्न आवश्यक पहल गर्नुपर्नेमा त्यसो नगरिएकाले पार्टीका सांसदहरूको असन्तुष्टि थपिएको पार्टी निकट नेताहरूको भनाइ छ ।
झन् अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले त्यहाँ प्रधानमन्त्री ओलीको सम्बोधनका बारेमा कुनै पनि सदस्यलाई कुनै किसिमको निर्देशन नभएको जनाएपछि पार्टी राजनीतिक गतिविधिका बारेमा कुनै औपचारिक निर्णय गर्ने अवस्थामा नरहेको देखिएको छ ।