सभापति शेरबहादुर देउवा सामु रामचन्द्र पौडेल लल्याकलुलुक महाधिवेशन प्रभावित बन्ने खतरा

काठमाडौँ– शनिबारको बैठकमा मङ्सिरमा महासमिति बैठक गर्ने सर्वसम्मत निर्णय भए पनि यो निर्णयले आगामी डेढ वर्षपछि हुने पार्टीको नियमित महाधिवेशन प्रभावित हुनसक्ने कतिपय काँग्रेस नेता कार्यकर्ताहरूको आशङ्का छ ।

शनिबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा महासमिति बैठक गर्ने निर्णय गरेको हो ।

यसअघि भदौ महिनामा बस्ने भनिएको काँग्रेस महासमिति बैठक मङ्सिरमा सारिएसँगै काँग्रेसको नियमित महाधिवेशन प्रभावित हुने आशङ्का बढेको छ ।

काँग्रेसको विधानमा वर्षको एक पटक महासमिति बैठक बस्नुपर्ने उल्लेख छ । तर २ वर्षमा एकपटक पनि बस्न सकेको छैन । यसबारे हामीले धेरै पहिलेदेखि नै कुरा उठाएका हौँ ।

अहिले मङ्सिरमा पुर्याइएको छ । १३औँ महाधिवेशनदेखि नै काँग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सुमधुर सम्बन्धको विकास हुन सकेको छैन ।

देउवा सभापतिमा निर्वाचित भएसँगै आफूलाई पेलेर लगेको भन्दै पौडेलले देउवाको सार्वजनिक फोरमहरूमै चर्को आलोचना गर्दै आएका थिए ।

पौडेलले मिति सार्ने विषयमा यति सहजै सहमति जनाउलान् भन्ने उनी पक्षका नेताहरूले सोचेका समेत थिएनन् । शनिबारको केन्द्रीय समितिमा देउवा र पौडेलबीच मिति सार्ने विषयमा एकमत देखिएपछि पौडेल निकटका केन्द्रीय सदस्यहरू तीनछक परे ।

‘वरिष्ठ नेता नै गलेपछि हामी के गर्नु ? हामी त महासमितिको मिति सार्ने कुराको विरोध गर्ने तयारीमै थियौँ तर उहाँ (रामचन्द्र पौडेल) नै लल्याकलुलुक हुनुभएपछि हामी चुप लाग्यौँ’ पौडेल निकट एक एक केन्द्रीय सदस्यले  बताए ।

महासमिति बैठकको मिति सार्ने निर्णयलाई काँग्रेस नेता प्रकाशमान सिंहले गलत भनेका छन् । निर्णय भएको भोलिपल्ट नै नेता सिंहले महासमितिको बैठक पूर्वघोषित मितिभन्दा तीन महिनापछि सार्ने निर्णय गलत भएको बताउँदै यसबाट पार्टी नेतृत्व असक्षम छ भन्ने थप पुष्टि भएको दाबी गरे ।

केही नेता कार्यकर्ताले नियमित महाधिवेशन सर्न सक्ने आशङ्का गरे पनि देउवा निकटका नेताहरू भने सभापति देउवा नियमित समयमै पार्टीको १४औँ महाधिवेशन हुने दाबी गर्छन् ।

देउवा निकट मानिने नेता ज्ञानेन्द्रबहादुर कार्की महासमिति र पार्टीको महाधिवेशनबीच कुनै साइनो नभएको बताउँछन् । उनी भन्छन् ‘विधान मस्यौदा भएपछि महासमितिले पास गर्छ । त्यसपछि तल्लो तहका नियमिति अधिवेशनहरू पनि हुन्छन् ।

विधान मस्यौदा समितिले आफ्नो काम गरेसँगै सबै काम फटाफट हुन्छन्, यसमा शङ्का गर्नुपर्ने अवस्था छैन’, कार्कीले  भने ‘सभापति समयमै पार्टीको महाधिवेशन पनि गर्ने सोचमा हुनुहुन्छ ।’संविधानले एक वर्ष  कार्यकाल थप गर्न मिल्ने व्यवस्था भए पनि त्यसका लागि सबैको सुझाव र सहमति चाहिने बताए ।

काँग्रेसको १३औँ महाधिवेशन २०७२ चैतमा भएको हो । काँग्रेसको विधानत ४ वर्षमै नियमित  महाधिवेशन हुनुपर्छ  । तर त्यो अवधिमा महाधिवेशन गर्न नसके एक वर्ष थप्न सक्ने अधिकार सभापतिलाई हुन्छ ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमिति बैठकबाहेक पार्टीमा धेरै कामहरू गर्न बाँकी रहेको बताए । उनले सङ्घीय संरचनामा पार्टीलाई लैजान तल्ला तहलाई पुनर्संरचना गर्ने महत्वपूर्ण काम बाँकी रहेको भन्दै महासमितिलाई देखाएर ती कामहरू रोकिए पार्टीको नियमित महाधिवेशन पनि सर्ने निश्चित भएको बताए ।

उनले भने ‘महासमिति बहाना बनाएर अरू काम पनि पछि धकेल्न सक्ने सम्भावना छ । त्यसतर्फ हामी सचेत छौँ, चुप लागेर बस्दैनौँ ।’