राष्ट्रपति हिगिन्सद्वारा नेपालको संविधानको प्रशंसा

काठमाडौं । नेपालको संविधानलाई छिमेकी राष्ट्र भारतले दिल खोलेर समर्थन गर्न अझै सकेको छैन । तर आयरल्याण्डका राष्ट्राध्यक्षले भने नेपालको संविधानलाई विश्वकै उत्कृष्ट भएको बताएका छन् । आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्सले संविधानसभाबाटै नेपालमा जारी भएको संविधान लोकतान्त्रिक र विधिको शासनमा आधारित उत्कृष्ट रहेको बताएका छन् ।
नेपाल र आयरल्याण्डबीच दौत्य सम्वन्ध कायम भएको २० वर्ष पुगेको उपलक्ष्यमा नेपाली दूतावासद्वारा डब्लिनमा १८ अगष्ट (भदौ २ गते) आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति हिगिन्सले दुई देशबीचको सम्वन्धलाई कूटनीतिका माध्यमबाट अरु बलियो बनाउन सकिने बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्वोधन गर्दै राष्ट्रपति हिगिन्सले भौगोलिक रुपमा आयरल्याण्ड र नेपाल टाढा रहे पनि दुई मुलुक कला, साहित्य, संगीत संस्कृति र प्रकृतिको समृद्धि एवं शान्ति, मैत्री, भातृत्व र विश्व–वन्धुत्वप्रतिको समान आस्थाका कारण नजिक रहेको बताए ।
राष्ट्रपति हिगिन्सले गत वर्ष शान्ति र निष्पक्षतापूर्वक सम्पन्न आमनिर्वाचनले नेपालमा राजनैतिक स्थायित्व हासिल भई आर्थिक विकासका निम्ति मार्ग प्रशस्त भएको पनि बताए ।
नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण एक समृद्व राष्ट्र भएको भन्दै राष्ट्रपति हिगिन्सले विविधतावीचको एकतालाई शदीयौंदेखि जोगाएर राखेको भन्दै नेपाली जनताको प्रशंसा गरे ।
कूटनीतिज्ञमा वौद्धिकता र सिर्जनात्मकता जस्ता क्षमता हुनु आदरयोग्य विशेषता भएको भन्दै राष्ट्रपति हिगिन्सले आयरल्याण्डका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी विद्वता र कूटनैतिक कौशल दुवै गुणले अन्तनिर्हित एक सफल व्यक्तित्व भएको चर्चा पनि गरे ।
आयरल्याण्डमा नेपाली समुदाय सानो भए पनि सुन्दर र सहयोगी रहेको भन्दै राष्ट्रपति हिगिन्सले नेपालीहरुको इमान्दारिता, मिलनसारिता, र परिश्रम एवं भातृत्वको भावनाबाट आइरिस जनता प्रभावित भएको बताए । उनले दुई मुलुकबीचको सरकारी सम्वन्धलाई जनस्तरमा समेत विस्तार गर्न आवश्यक रहेको भन्दै साहित्य, संगीत, कला र संस्कृतिको आदानप्रदान यस दिशामा महत्वपूर्ण हुने बताए ।
कूटनीतिक नियोगहरुले आयोजना गर्ने कार्यक्रममा राष्ट्राध्यक्षको उपस्थितिलाई पश्चिमी राष्ट्रहरुमा दुर्लभ घटना मानिन्छ ।


सो अवसरमा आयरल्याण्ड–नेपाल फ्रेन्ड्रसिप ग्रुपका संयोजक आइरिस सांसद मरिन ओ सुलिभानले आयरल्याण्ड र नेपालवीचको सम्बन्ध सरकारी सम्वन्धका साथसाथै संसदीय स्तरमा समेत विस्तारित भएको बताइन् । दुई मुलुकवीच उच्चस्तरीय भ्रमणको आदान–प्रदानले मैत्री सम्वन्धलाई अझ सुदृढ र सुमधुर बनाउन योगदान पुग्ने बताउँदै उनले निकट भविष्यमा आइरिस संसदका सभामुखको नेतृत्वमा आइरिस संसदीय प्रतिनिधिमण्डलले नेपालको भ्रमण गर्ने र नेपालको संसदीय प्रतिनिधिमण्डलले पनि आयरल्याण्डको भ्रमण गर्ने कार्यक्रम तय भएको बताइन् ।
आयरल्याण्ड र नेपालले संयुक्त राष्ट्रसंघमा एकै दिन प्रवेश गरेको हुँदा दुई देशका बीचमा कैयन घटनाहरु स्मरणीय रहेका छन् ।
समारोहमा आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्सले राजदूत सुवेदी (दुवसु क्षेत्री) द्वारा अनुवादित तथा सम्पादित ‘सुप्रसिद्ध आइरिस कवि माइकल डि. हिगिन्सका प्रतिनिधि कविता’ नामक कवितासंग्रहको लोकार्पणसमेत गरेका थिए ।
साहित्यकार समेत रहेका हिगिन्सका कविता व्रिटेनस्थित नेपाली राजदूत तथा साहित्यकार दुर्गाबहादुर सुवेदी क्षेत्रीले नेपालीमा अनुवाद गरिदिएकोमा राष्ट्रपतिले कृतज्ञता ज्ञापन गरेका छन् ।
समारोहमा नेपाली तस्वीर प्रदर्शनी तथा नेपाली कला प्रदर्शनीको राष्ट्रपति हिगिन्स र श्रीमती सविना हिगिन्सले रुचिपूर्वक अवलोकन गरेका थिए ।


आयरल्याण्डका लागि नेपाली राजदूत सुवेदीले नेपाल र आयरल्याण्डवीच दौत्य सम्वन्ध स्थापना भएको बीसौं वर्ष प्रवेश गरेको शुभ र सुखद उपलक्ष्यमा महामहिम राष्ट्रपतिको समुपस्थितिले आफूहरु हर्षित र गौरवान्वित भएको बताए । उनले यसबाट नेपाल र नेपाली जनताप्रति आयरल्याण्ड र आइरिस जनताको स्नेह, सम्मान, र आत्मीयताको प्रतिविम्व प्रस्तुत भएको पनि बताए ।
सुवेदीले वर्तमान सरकार, राष्ट्रियता, लोकतन्त्र र मौलिक अधिकारहरुप्रतिको प्रतिवद्धता, सामाजिक न्याय, सुशासन, विधिको शासन, राजनैतिक स्थिरता, विकास र समृद्धि जस्ता ६ वटा मूलभूत लक्ष्यका लिएर अघि वढेको उल्लेख गरेका थिए ।
आयरल्याण्डमा करिव तीन हजार नेपालीहरु रहेको सानो र सुन्दर समुदाय रहेको छ भन्ने उल्लेख गर्दै सुवेदीले नेपाली समुदाय आफ्नो भाषा, संस्कृति, कला, संगीत र परम्पराहरुको संरक्षण गर्दै आयरल्याण्डको समाजमा मिलेर बसेको देख्दा र यहाँको नेपाली समुदायप्रति आइरिस जनता र सरकारको स्नेह, सम्मान र भातृत्वको भावना देख्दा आफू गौरवान्वित भएको बताए ।
उक्त विशेष समारोहमा आयरल्याण्डमा रहेर नेपाली भाषा, साहित्य, कला, संगीत, संस्कार र संस्कृतिको संरक्षण र सम्वर्धन एवं नेपाली समुदायको एकता र भातृत्व अभिवृद्धिका लागि उल्लेखनीय योगदान गर्ने आठ जना अग्रज समाजसेवी नेपाली दीपेशमान शाक्य, गणेश प्रसाई, गंगाराम कँडेल, जीवन तिमिल्सिना, कृष्णकुमार डंगोल, नवराज कोइराला, राजेन्द्र काफ्ले र शारदा खत्री प्याट्रिक्यूलाई राष्ट्रपति र नेपाली राजदूतले सम्मान गरेका थिए । समारोहमा स्थानीय नेपाली कलाकारहरुले नेपाली कला र संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरेका थिए ।
समारोहमा आइरिस संसदका माननीय सदस्यहरु, पूर्व मन्त्रीहरु, आयरल्याण्डका सर्वोच्च न्यायालयका न्यायाधीश, नगरप्रमुखहरु, आयरल्याण्डस्थित विभिन्न मुलुकका राजदूत एवं कूटनैतिक प्रतिनिधिहरु, नेपालका लागि युरोपियन युनियनका राजदूत, आइरिस सरकारका उच्च पदस्थ पदाधिकारीहरु, गैरआवासीय नेपाली संघ, आयरल्याण्डका अध्यक्ष तथा पदाधिकारीहरु, नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष तथा पदाधिकारीहरु, सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने आइरिस पर्वतारोहीहरु एवं नेपालमा सञ्चालित आइरिस गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु गरी तीन सय भन्दा बढी अतिथिहरु सहभागी थिए ।