के गर्ने हो सेनाको त्यत्रो सम्पत्ति ?
काठमाडौं÷ नेपाली सेनाको कल्याणकारी कोषमा पैसा वर्षेनी थुप्रिँदै गएको छ । कोषमा यस वर्ष मौज्दात ४१ अर्ब २९ करोड ८२ लाख ४६ रुपैयाँ पुगेको छ ।
सेनाले कूल मौज्दातमध्ये ५ अर्ब ५२ करोड ५७ लाख ८७ हजार विभिन्न आयोजनामा लगानी गरेको छ । तर ३६ अर्ब भन्दा बढी रकम भने लगानी गर्ने ठाउँ नपाएर विभिन्न बैकमै थुप्रिएको छ ।
नेपाली सेनाले कोषमा रहेको रकम परिचालन गर्न धेरै वर्ष अघिदेखि प्रयास गर्दै आएको छ । रकम परिचालन गर्न सेना सम्बन्धी केही ऐन परिवर्तन गर्नुपर्ने हुन्छ । त्यसका लागि सेनाले केही वर्षअघि रक्षा मन्त्रालयमार्फत प्रयास पनि नगरेको होइन तर ऐन तथा नियमावली अहिलेसम्म परिमार्जन हुन सकेको छैन ।
कोषको रकम परिचालन सम्बन्धी ऐन तथा नियमावली परिमार्जन नहुँदा सेनाले ठूला आयोजनामा लगानी गर्न पाएको छैन । नेपाली सेनाले डेढ दशकअघि बैंक समेत स्थापना गर्न खोजेको थियो तर त्यसबेला त्यही ऐन तथा नियमावलीलाई देखाएर सेनाको काम बैंक खोल्ने होइन, शान्ति सुरक्षा गर्ने मात्र हो भनेर रोकिएको थियो । त्यसपछि सेनाले जहाज किन्ने प्र्रयास गर्यो, त्यसलाई पनि त्यही ऐन र नियमावलीले नै रोक्यो ।
सरकारले जलविद्युतको विकासबाट मुलुक समृद्ध पार्ने प्रयास गर्न थालेपछि सेनाले हाइड्रो पावरमा समेत लगानी गर्न खोज्यो, तर यसमा पनि त्यही ऐन र नियमावलीले अड्काएको सैनिक स्रोत बताउँछ ।
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेनामा सहभागी भएवापत प्राप्त हुने रकमबाट २०३२ सालमा नेपाली सेनाले कोष स्थापना गरेको थियो । त्यसबेला कोष १ करोड २४ लाख १ हजार रुपैयाँबाट शुरु गरिएको थियो । शान्ति सेना र विभिन्न स्रोतबाट हुने आम्दानीका कारण रकम बढ्दै गएर मौज्दात नै ३५ अर्ब ७७ करोड २४ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।
कोषको मौज्दातमध्ये नेपाल राष्ट्र बैंकले समस्या घोषणा गरेका बैंक तथा वित्तीय संस्थासँग सैनिक कल्याणकारी कोषले प्राप्त गर्नुपर्ने सावाँ २२ करोड ९७ लाख ६७ हजार छ । कोषले बहालवाला तथा भूपू सैनिकका परिवारका लागि स्वास्थ्य, शिक्षा रोजगारी तथा आवास क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।
कोषको मुख्य स्रोत बैंकमा निक्षेप गरिएको रकमबाट प्राप्त हुने ब्याज, शान्तिसेनाबाट प्राप्त हुने रकम, शिक्षण संस्थाबाट प्राप्त हुने शुल्क र विभिन्न आयमूलक परियोजनाबाट हुने रकम हो । सेनाको कोषमा रकम थपिँदै जाने तर त्यो रकम कहीँ लगानी गर्ने वातावरण नमिल्दा अर्थविद्हरुमा अहिले सेनाले त्यत्रो पैसा के गर्ला भन्ने जिज्ञासा उत्पन्न भएको छ ।