पाल्पामा बजार अनुगमन ठप्प व्यापारीको मनोमानी बढ्यो

पाल्पा÷ घरेलु, जिल्ला प्रशासन, वाणिज्य कार्यालयको क्षेत्राधिकार स्थानीय तहलाई सुम्पिएपछि जिल्लामा बजार अनुगमन ठप्प भएको छ । स्थानीय सरकार आए सँगै जिल्लाका बजार, होटलहरुमा अनुगमन कार्य ठप्प भएको हो । बजार अनुगमन नहुँदा सर्वसाधारण जनता महंगो मूल्यमा सामान किन्न बाध्य भएका छन् ।
बजार अनुगमन नहुँदा पसलमा विक्रिका लागि राखिएका सामानको मूल्यमा एकरुपता नभएको तानसेनवासीको गुनासो छ । अर्को तर्फ तानसेन र अन्य व्यापारिक क्षेत्रका मासु व्यवसायीले अस्वस्थ तथा उपभोगका लागि अयोग्य मासु खुल्ला रुपमा विक्रि गर्दा समेत अधिकार प्राप्त निकाय मौन बसेको आमउपभोक्ताको आरोप छ ।
होटल तथा रेष्टुराँहरुमा विक्रिका लागि राखिएका खाद्य वस्तुमा अखाद्य वस्तुको मिसावट बढेको छ । त्यसै गरी होटल व्यवसायीले बासि सडेगलेका खाद्यवस्तु विक्रि गर्न लागेका छन् । विगतमा वाणिज्य कार्र्यालयको आयोजनामा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयको व्यवस्थापनमा नियमित रुपमा जिल्लाका मूख्य बजार, सदरमुकामहरुका बजार, होटल तथा रेष्टुराँहरुमा अनुगमन हुने भए पनि स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनुगमन कार्य हुन सकेको छैन । बजार अनुगमन गर्ने, व्यवसायीलाई करको दायरामा ल्याउने, सफा स्वच्छ उपभोग्य वस्तुको विक्रि गर्न प्रोत्साहित गर्ने, मापदण्ड विपरित कार्य गर्ने व्यवसायीलाई कानुनी कठघरामा उभ्याउने जिम्मेवारी स्थानीय तहमा गएपछि सबै काम ठप्प भएको स्थानीय बासिन्दा बताउँछन् । जिल्ला भित्रका मुख्य राजमार्ग तथा सडक किनारका होटलहरुका खाद्य वस्तु मापदण्ड अनुरुप नभएको, बासि सड्ने अवस्थामा पुगेको वस्तु विक्रि भइरहेको माथागढी गाउँपालिका देउगीरका विवेक गाहाले बताए ।
नियमित रुपमा बजार अनुगमन नहुँदा होटल व्यवसायीको मनोमानी बढ्दै गएको तानसेन भगवती टोलका मनोजकुमार केशीले बताए । बजार अनुगमन नहुँदा होटल, मासुजन्य वस्तुको विक्रि वितरणमा व्यवसायीको मनोमानि बढ्दै गएको छ । समस्या सदरमूकाममा मात्र नभई जिल्लाको दोस्रो मूख्य व्यापारिक र प्रशासनिक केन्द्र रामपुरमा समेत होटल र मासु व्यवसायीले आम उपभोक्ताको स्वास्थ्यमा खलवाड गरी व्यवसायी गर्दै आएको रामपुरका स्थानीय बासिन्दा ओमप्रकाश रेग्मीले बताए । बजार अनुगमन गर्ने जिम्मेवारी प्राप्त स्थानीय तहमध्ये अहिलेसम्म बगनासकाली गाउँपालिकाले स्थानीय बजार क्षेत्रमा चार महिना अघि होटल, मासु पसल, किराना पसलको अनुगमन गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।
माथागढी गाउँपालिकाको कार्यालयले जनगुनासो आए पछि माथागढीका स्थानीय बजारहरुमा केही समय अघि बजार अनुगमन गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए । उनले स्थानीय तहलाई जिम्मेवारी र अधिकार दिए पनि आवश्यक र विशेषज्ञ कर्मचारी नभएकै कारण बजार अनुगमन हुन नसकेको बताए । रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल पौड्यालले भने बजार अनुगमनको छुट्टै कार्यविधि बनाएर छिट्टै नै बजार अनुगमन गरिने जानकारी दिए । होटल पसल मात्र होइन म्याद नाघेका औषधी गाउँ गाउँमा विक्रि भए त्यसको जिम्मेवारी कसले लिने ? सदरमुकामकै पसलहरुमा पेयपदार्थ, प्याकेटका खाजाको म्याद सकिदा सम्म पनि विक्री हुँदै आएका छन् । त्यसको अनुगमन तथा नियमन गर्ने निकाय समेत मौन रहेको स्थानीय बासिन्दाहरुको आरोप छ ।