मृगौला पीडित आलेलाई आर्थिक सहयोग

पाल्पा÷ दुबै मृगौला फेल भएर उपचार गराइरहेकी मीना आलेको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । आलेको उपचारका लागि पाल्पा प्यारागन बोडिङ्ग स्कुलले आर्थिक सहयोग गरेको हो । सोही स्कुलमा कक्षा १ मा अध्ययनरत कुसाङ् आलेको आमाको उपचारका लागि स्कुलले १२ हजार ९ सय १५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । तानसेन नगरपालिका १२ बौगापोखराथोक निवासी ३० वर्षीय आलेको मृगौलामा समस्या आए पछि विगत एक महिना देखि काठमाडौंको आरोग्य स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ । आफ्ना विद्यार्थीको अभिभावकको उपचारमा आर्थिक समस्या भए पछि स्कुलले विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनका सदस्यहरुबाट रकम संकलन गरी सहयोग गरेको हो ।
स्कुलले एक कार्यक्रमका बिच आईतबार पिडितका आफन्त तथा नेपाल विद्यार्थी संघका जिल्ला सभापति कृष्णबहादुर आलेलाई स्कुलका प्रिन्सीपल गंगाबहादुर खत्री, सञ्चालक समितिका सदस्य रामबहादुर गाहा र नेपाल जुनियर रेडक्रस सर्कल प्यारागनका अध्यक्ष ज्ञान सोमैले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै स्कुलका प्रिन्सीपल खत्रीले विद्यार्थी, शिक्षक र सञ्चालक समितिका सदस्यहरुको सहयोगबाट सानो रकम सहयोग गरिएको बताए । उनले भने ‘सानो सहयोगले कसैको जीवनले पुनर्जीवन पाउँछ भन्ने लागेर विद्यालयले सहयोगको भावना राखेको हो ।’ सहयोग रकम ग्रहण गर्दै पिडितका आफन्त तथा नेविसंघका जिल्ला सभापति कृष्णबहादुर आलेले विद्यालयले पिडित आले प्रति देखाएको सहयोगी भावनाको प्रसंशा गर्दै धन्यवाद व्यक्त गरेका छन् । उनले शिक्षा प्राप्त गरेपछि व्यवहारमा उतार्नु पर्छ भन्ने कुराको उदाहरण पेस गर्न प्यारागनका विद्यार्थीहरु सफल भएको बताए । मृगौला पिडित आलेको दुवै मृगौलाले काम नगर्ने र मृगौला प्रत्यारोपण गर्दा पनि धेरै रकम लाग्ने भएपछि आफन्तले सहयोगको अपिल गरेका छन् ।