बिमस्टेक सम्मेलनको आज तीन बजे होटल सोल्टीमा उदघाटन

काठमाडौं  बिहीबार सोल्टी होटलमा शुरु हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक चौथो शिखर सम्मेलनमा सहभागी हुन सबै सदस्य राष्ट्रका प्रमुखहरू काठमाडौं आइसकेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा बिहीबार आइपुगेका छन् । श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक बुधबार र म्यान्मारका राष्ट्रपति विन मिन्ट मंगलबार नै काठमाडौं आइसकेका थिए ।

बिमस्टेक चौथो शिखर सम्मेलनमा भाग लिन आएका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा सामूहिक शिष्टाचार भेटवार्ता गरेकी छन् । त्यसपछि राष्ट्रपतिले अतिथिहरूको स्वागतमा आयोजना गरेको दिवाभोज शुरु हुनेछ ।

तीन बजे  होटल सोल्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उदघाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिए । बिमस्टेकको अध्यक्षता गरेको देशको प्रधानमन्त्रीको हैसियतमा ओलीले २२ मिनेट सम्बोधन गर्ने तय भएको छ ।

ओलीको सम्बोधनपछि वर्णानुक्रम अनुसार बंगलादेश, भुटान, भारत, म्यान्मार, श्रीलंका र थाइल्याण्डका राष्ट्रप्रमुखरसरकार प्रमुखहरूले १५(१५ मिनेट मन्तव्य राख्नेछन् ।

 छ बजे तिर सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रम सकिन्छ । त्यसपछि अतिथिहरू प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् ।

शुक्रबार विहान प्रधानमन्त्री ओलीले सदस्य राष्ट्रका सरकार प्रमुख/राष्ट्र प्रमुखको सम्मानमा ‘रिटि्रट’ आयोजना गरेका छन् । त्यसपछि बिहान साढे एघार बजे बिमस्टेकको दोस्रो दिनको सत्र शुरु हुनेछ ।

शान्त, समृद्ध र दिगो बंगालको खाडीतर्फ भन्ने मुलनारा रहेको सम्मेलनमा बिमस्टेक क्षेत्रमा प्रतिआतंकवादका साझा रणनीति तय गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । अन्तर्राष्ट्रिय आतंकवाद, सीमापार सांगठनिक अपराध र अवैध ओसारपसार सम्बन्धी बिमस्टेक सन्धि ४ भदौमा प्रतिनिधिसभाबाट अनुमोदन भइसकेको छ ।

सम्मेलनमा स्वतन्त्र व्यापार, बिमस्टेक वडापत्र निर्माण, संयुक्त लगानी कोष, भन्सार सहजतासम्बन्धी सम्झौता, मोटरगाडी तथा परिवहन, स्थल तथा जलमार्ग कनेक्टिभिटी जस्ता एजेण्डामा छलफल हुनेछन् ।

बुधबार बसेको बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकले विद्युत प्रसारण लाइन ग्रीड इन्टरकनेक्सन्स को एमओयुलाई अगाडि बढाउने निर्णय गरिसकेको छ । मन्त्रीस्तरीय बैठकमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले दिगो यातायात सञ्जाल, विद्युत प्रसारण लाइन अन्तरसञ्जाल र इन्फर्मेसन हाइवे, प्राकृतिक प्रकोप, भोकमरी, जलवायु परिवर्तन लगायतका विषयमा सदस्य राष्ट्रहरूबीच सहकार्य आवश्यक रहेकोमा बताएका थिए । बिमस्टेकलाई प्रतिबद्धताबाट कार्यान्वयन चरणमा लैजानुपर्नेमा उनको जोड थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर र काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुनेछ । पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ ।