उपेन्द्र यादवलाई कालो झण्डा देखाउँदा पक्राउ परेका मनोहरको प्रहरी हिरासतमै मृत्यु

काठमाडौंः उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका एक व्यक्तिको प्रहरी हिरासतमै मृत्यु भएको छ।

यही भदौ ७ गते मन्त्री यादव बर्दिया आएको समयमा कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका नेता राम मनोहर यादवको प्रहरी हिरासतमा रहेकै समयमा मृत्यु भएको हो।

यादवमा शुक्रबार राति एक्कासी हातखुट्टा नचल्ने समस्या भएपछि गुलरिया अस्पतालमा भर्ना गरिएको र त्यहाँ सम्भव नभएपछि नेपालगन्ज नर्सिङ होममा लगिएको थियो। त्यहाँ पनि उनको उपचार सम्भव नभएपछि काठमाडौँ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो भने शुक्रबार राति दुई बजेतिर थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।

गठबन्धनका प्रवक्ता अब्दुल खानले प्रहरीको ढिलासुस्तीका कारण यादवको मृत्यु भएको आरोप लगाएका छन्। नर्सिङहोममा उपचार सम्भव नभएपछि आफूले हेलिकोप्टरमार्फत काठमाडौँ लैजान आग्रह गरेको र प्रहरीले ढिल गरी एम्बुलेन्सबाट लैजान खोजेका कारण ज्यान गएको बताए।