७५३ स्थानीय तहमा प्रहरी संगठन विस्तार
काठमाडौ– नेपाल प्रहरीको संगठन ७५३ वटै स्थानीय तहमा विस्तार भएको छ ।
२७ जेठ २०७५ मा सरकारले गरेको निर्णय बमोजिम प्रहरी कार्यालय नभएका बाँकी ३० स्थानीय तहमा प्रहरी कार्यालय स्थापना गरिएको हो ।
यसअघि चार नगरपालिका र २६ गाउँपालिका बाहेक ७२३ स्थानीय तहमा प्रहरी कार्यालय थिए ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले संघीयता कार्यान्वयन र सुरक्षा सुदृढीकरणका लागि प्रहरीले सबै स्थानीय तहमा एकाइ स्थापना गरेको जानकारी दिए ।
नयाँ स्थापना गरिएका स्थानीय तहमध्ये १४ वटा कार्यालयमा प्रहरी निरीक्षक र बाँकी १६ कार्यालयमा प्रहरी नायब निरीक्षकले नेतृत्व गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीले संगठनलाई प्रादेशिक ढाँचामा रुपान्तरण गर्नका लागि तीन हजार १०१ नयाँ दरबन्दी समेत थपिएको छ । रासस